रविवार, 14 अक्टूबर 2018

उद्यमशीलता विकासमा जोड

मुलुकको राजनीतिक क्षेत्रमा उल्लेखनीय परिवर्तन भए पनि नेपाली समाजको सामाजिक आर्थिक अवस्थामा भने खासै परिवर्तन आउन सकेको छैन । नेपाल अझै पनि अति कम विकसित देशका रुपमा रहेको छ । समतामूलक र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर अगाडि आएका सरोकारवालाहरुको पनि मुलुकको विकास रणनीतिमा खासै प्रभाव देखिएको छैन । विप्रेषणका कारणले गरिबीको मात्रा केही घटे पनि अझै ठूलै संख्यामा नागरिक गरिब छन् भने अर्कोतर्फ आर्थिक असमानता पनि बढ्दै गएको छ ।
धनी र गरिब वीचको खाडल बढ्दै गएको छ । आर्थिक वृद्धिदर न्यून छ भने चरम बेरोजगारीको स्थिति छ, क्षेत्रिय र सामाजिक असन्तुलन कायम छ । राज्यको पुनसंरचना र संघीयतामा जादैमा त्यस प्रकारको असमानता स्वतः कम हुने पनि होइन । परिणाम स्वरुप सामाजिक आर्थिक विकास र रुपान्तरण विना प्राप्त राजनीतिक उपलव्धिहरु पनि सुरक्षित रही रहने छैनन् । यस्तो अवस्था आउन नदिन अब राजनीतिक उपलव्धिहरुलाई संस्थागत गर्दै आर्थिक परिर्वतनको माध्यमबाट अघि बढ्नुुको विकल्प छैन ।
आत्मनिर्भर, स्वाधीन, समृद्ध र समतामूलक नेपाल निर्माण गर्ने साझा सपना र संकल्प तयार गर्नुपर्दछ ।
कुनै समयमा आजको अमेरिका पनि गरिव थियो । त्यहाँका आदिवासी ‘रेड इण्डियनहरु’ घुमन्ते जीवन व्यतित गर्थे । विशेष गरि युरोप र दक्षिण अमेरिकाबाट धार्मिक तथा राजनीतिक कारणले विस्थापन हुन पुगेका धनी र सम्पन्न वर्गका मानिस अमेरिकामा शरण लिन पुगेका थिए । नवआगन्तुक र अमेरिकाका आदिवासी बीचमा केही समय द्वन्द पनि चल्यो । धनी मानिसका घर र सम्पतिमाथि धन नहुनेहरुले आक्रमण गरेको इतिहास पनि छ । तथापि त्यहाँको समाजमा भएको द्वन्दको सही समाधान गरियो । गरिवलाई पनि प्रशस्त अवसर र सम्मान प्रदान गरियो । कानूनको नजरमा सबैको समान हैसियत कायम गरियो ।
नेपाली समाजको मूल मान्यता भनेको पढेपछि जागिर खानुपर्छ भन्ने नै छ । कसै-कसैले घरैमा बसेर खेतीपातिको काम गरेछ भने ‘हेर त्यत्रो पढेको अरे त्यही हलो जोत्ने काम गर्छ’ भन्नेहरु जताततै भेटिन्छन् । जागिर खानका लागि पढ्ने वा पढेर जागिरै खाने संस्कृति हाम्रो परिवारमा छ । जसका कारणले पेशा व्यवसायमा सीमित मानिसहरु छन् । परिणाम न पुरानो पेशालाई निरन्तरता दिन सक्छ न नयाँ काम गर्ने आँट र सीप हुन्छ । जसका कारण उद्यमशीलताको विकास हुनसकिरहेको छैन् ।
यस्तो सामाजिक मान्यतालाई अब हामीहरुले बदल्दै समाजमा आफ्ना सन्तानलाई उद्यमी बन्नतिर प्रेरित गर्नुपर्छ, जागिरे र लाहुरे बन्नेतिर होइन । जसका लागि युवालाई सामाजिक आर्थिक रूपान्तरणका मुख्य संवाहक र मुख्य साझेदारका रूपमा अघि बढाउनु पर्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें