सबैमा आफ्नो व्यवसाय सुरु गर्ने चाहना हुन्छ । अहिलेको युवापुस्ता आफू मालिक बन्न जागरुक रहेको छ । तर, व्यवसाय सुरु गर्नु त्यत्ति सजिलो छैन । यो चुनौतीपूर्ण काम हो । तपाईसँग धन, शिक्षा र काम गरेको अनुभव छ भने पनि ती मात्रै प्रयाप्त छैनन् आफ्नै व्यवसाय सुरु गर्न । तर, डराउनु पर्ने केही छैन । योजनावद्धरुपमा अगाडि बढेमा व्यवसायमा सफलता निस्चित छ । सरल अनुसन्धान र विस्तृत योजनाले नै व्यवसायलाई अगाडि बढाउन सकिन्छ । माग, आपुर्ति र बजार प्रतिस्पर्धा जस्ता कुरालाई ध्यान दिएर साना व्यवसाय सुरु गर्नु पर्ने सल्लाह म्याजिक ८-बलले दिएको छ ।
बिजमाण्डुले यसपटक साना व्यवसाय सुरु गर्न आवश्यक तयारीका बारेमा म्याजिक ८-बलको अवधारणालाई नेपालको सन्दर्भमा ढालेर प्रस्तुत गर्ने जमर्को गरेको छ । बजार प्रतिस्पर्धाका कारण अनुसन्धान र योजना नगरी व्यवसाय गर्दा नेपालमा समेत सफल हुन नसकिने अवस्था सिर्जना भैसकेको छ । तसर्थ, व्यवसायिक योजना बनाउने आधारभुत छ चरणका बारेमा यहाँ जानकारी दिइएको छ ।
१. आधारभुत तयारी
अवधारणा बनाउनु होस: तपाई वस्तु वा सेवा जुनसुकै व्यवसाय सुरु गर्ने सोच लिन सक्नु हुन्छ । ती वस्तु वा सेवाका बारेमा मानिसलाई थाहा हुन सक्छ वा भर्खर आविस्कार भएकोले थाहा नहुन पनि सक्छ ।
तपाईको व्यवसायिक सोचले काम गर्छ वा गर्दैन, केही समय कुर्नु पर्छ कि तत्काल सुरु गर्न सकिन्छ आदि बारेमा जानकारी लिन केही विद्धान र केही साधारण मानिससँग छलफल गर्नुस । समाजको प्रतिनिधित्व गर्ने यी व्यक्तिको भनाई गम्भीरतापुर्वक सुन्नुस र अवधारणा बनाउनु होस ।
लक्ष्य निर्धारण गर्नुहोस: तपाईले व्यवसाय घरखर्च चलाउनका लागि गर्ने हो वा पूर्ण व्यवसायिक जीवनमा प्रवेश गर्न, यसमा प्रस्ट हुनुहोस । यसले भविष्यमा व्यवसायको विकास र विस्तार गर्ने क्रममा सहयोग पुग्छ, तसर्थ पहिले नै अधारभुत लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य नलिई अघि बढदा घर न घाटको हुने अवस्था रहन्छ ।
राम्रो नाम दिनुस: व्यवसाय ब्राण्ड हो । तसर्थ बजारमा सहजै स्वीकार्य हुने साथै लक्षित वर्गमा लोकप्रिय नाम दिनुहोस । ध्यान राख्नुस, ब्राण्ड नाम सधै परिवर्तन गर्ने कुरा होइन ।
समूह निर्माण गर्नुस: आजको समय एक्लै व्यवसाय गर्न उपयुक्त छैन । यसो भन्दैमा एकल व्यवसाय गर्नै हुदैन भन्ने चाँही होइन, तर एक/दुईजना साथीसँग मिलेर व्यवसाय सुरु गर्दा बढी सफल हुन सकिने सम्भावना हुन्छ । साझेदारीले सबै विभिन्न पक्षको राम्रो सोचलाई अगाडि बढाउँछ ।
छनोट गर्नुस: व्यवसायमा साझेदार होस वा कर्मचारी, तिनको छनोट निकै होस पुर्याएर गर्नुपर्छ । ध्यानमा राख्नुस, तपाईको घनिस्ट साथी पनि व्यवसायका लागि उपयुक्त नहुन सक्छ । यस्ता मानिस छनोट गर्दा तपाई कमजोर भएको क्षेत्रमा बलिया, दीर्घकालन सोच भएका, सहजै घुलमिल हुन सक्ने र व्यवसायको प्रकृति अनुकुल भएकालाई मात्र लिनुहोस ।
२. व्यवसायिक योजना लेखन
हामी कहाँ व्यवसायिक योजना लेखन, लक्ष्य निर्धारण र बजारीकरणको पक्षमा ध्यान नदिने चलन छ । तर, व्यवसाय सानो होस वा ठूलो आजको प्रतिस्पर्धात्मक युगमा बजारका विभिन्न तत्वको विश्लेषण नगरी व्यवसाय सफल हुन सक्दैन । व्यवसाय फलदायी छ वा छैन थाहा पाउन कै लागि पनि व्यवसायिक योजना आवश्यक छ ।
व्यवसायिक योजना कसरी लेख्ने भन्ने पुस्तक, टुलकिटहरु अनलाइन, पुस्तकालय र बजारमा पाइन्छन् । तिनको अध्ययनबाट योजना तयार गर्न सकिन्छ । व्यवसायिक योजनामा निम्न कुरा समावेस गर्नुपर्छ ।
सारांस: व्यवसाय गर्ने क्रममा बेलाबेलामा लगानी, बजारीकरण र लक्ष्य जस्ता कुरा हेर्नुपर्ने हुन्छ । सम्पुर्ण योजना पढन सकिदैन । त्यसबेला सारांसमा समेटिएका मुख्य बुदाँले अगाडि बढन वा निर्णय गर्न मद्दत गर्छ ।
विस्तृत व्यवसायिक कार्यहरु
बजारीकरण रणनीति
प्रतिस्पर्धा विश्लेषण
व्यवसाय विकासको लक्ष्य र रणनीति
सञ्चालन निर्देशिका
लगानी र वित्तिय व्यवस्थापन
३. व्यवसाय दर्ता तथा कानुनी प्रक्रिया
व्यवसाय दर्ताः कुनै पनि व्यवसाय सरकारको निस्चित निकायमा दर्ता गर्नु आवश्यक हुन्छ । साना व्यवसाय दर्ता गर्ने निकायको रुपमा गाउ, नगर/महानगर, वाणिज्य विभाग र कार्यालय छन् । कुन व्यवसाय कहाँ दर्ता गर्ने भन्ने निस्चित गर्न सकिएन भने वकिलको सहायता लिन सक्नुहुन्छ । थोरै शुल्कमा नै यस्तो सेवा पाउन सकिन्छ ।
लेखापाल: व्यवसायको लेखा दुरुसत राख्नु पर्छ । विभिन्न प्रकारका कर र दैनिक खरिदबिक्री, नाफा घाटाको विवरण दुरुस्त राख्न लेखापाल नियुक्त गर्नु पर्छ । साना व्यवसायीको लेखा राख्न पार्टटाइम लेखापाल पनि उपलव्ध हुन सक्छन् ।
४. वित्तीय व्यवस्थापन
प्रारम्भिक लगानी: व्यवसायिक योजना बनाएपछि त्यसका लागि लगानीको स्रोत जुटाउने ठूलो चुनौती हो । यस्तो स्रोत तपाईले जम्मा गरेको पुँजी, बैंक वा अन्य वित्तीय लगानी गर्ने संस्थाबाट आउन सक्छ । नेपालको सन्दर्भमा आयोजनामा आधारित लगानीको सम्भावना निकै कम छ । तर, युवा तथा साना व्यवसायी स्वरोजगार जस्ता कोषबाट सहयोग लिन सकिन्छ ।
जगेडा पुँजी: तपाईले व्यवसायमा पाँच लाख लगानी गर्ने सोच्नु भएको छ भने त्यसको करिव १० प्रतिशत जगेडा पुँजीको रुपमा राख्नुस् । भैपरि आउने अवस्थामा यस्तो रकम आवश्यक पर्छ ।
थोरै खर्च: व्यवसायमा गर्ने लगानी आधारभुतरुपमा व्यवसायमै लगानी गर्नुस् । अफिसमा कम खर्च गर्नुस् ।
नयाँ व्यवसायः व्यवसायबाट भएको आम्दानीले नयाँ व्यवसाय थप्नुस् । यदि तपाईको योजना घरखर्चमात्र चलाउने हो भने परिवारको शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिनुस् ।
प्रतिस्पर्धामा सजग रहनुस: व्यवसायमा हरेक क्षण प्रतिस्पर्धा चलिरहेको हुन्छ । प्रतिस्पर्धा को सँग, कहाँ र कसरी गर्नु पर्छ भन्ने बारेमा जानकारी राख्नुस र रणनीतिक हिसाबले चल्नुस । तपाईले बजारका अदृष्य शक्ति बारेमा पनि जानकारी राख्नु उपयुक्त हुन्छ । यिनको चलखेललाई पन्छाउन सकिएन व्यवसाय डुब्न सक्छ ।
५. बजारीकरण
व्यवसायको महत्वपूर्ण पाटो बजारीकरण हो । यसबाट नै ग्राहक सिर्जना हुन्छन् र व्यवसाय चल्छ । एक्काइसौं शताव्दीमा बजारीकरणका कैयन माध्यम छन् । बजारीकरणका लागि व्यवसायको प्रकृति, ग्राहक र खर्च गर्न सक्ने क्षमता अनुसार योजना बनाउनु पर्छ ।
वेवसाइट: तपाईको व्यवसाय ग्रोसरी, रेस्टुराँ आदि हो भने वेवसाइट निर्माण गर्नुस । प्रविधीको प्रयोग गर्ने बढी रहेको अहिलेको अवस्थामा मानिसहरु वेवसाइटबाट बुझेर समान किन्ने र खान जाने गर्न थालिसकेका छन् । सामाजिक सञ्जालबाट पनि व्यवसाय प्रवर्दन गर्ने भरपुर प्रयोग गर्नुस, अन्य मिडिया नपुगेको ठाउँमा पनि सोसियल मिडिया पुगेका हुन्छन् ।
साजसज्जा: अहिले व्यवसायिक स्थलको साजसज्जाले पनि मानिसलाई आर्कषित गर्छ, तसर्थ साधारण पसल भएपनि त्यसलाई नयाँ लुक दिनोस । यसका लागि व्यवसायिक डिजाइनरहरु बजारमा पाइन्छन् ।
हसिलो सेवाः व्यवसायको सफलता तपाईले दिने सेवामा भर पर्छ । सेवाको स्तरीकरण गर्ने र हासेर सेवा दिने गर्नुस । त्यस्तै कर्मचारी राख्नुस । यसबाट व्यवसायको प्रगति निस्चित छ ।
बजारीकरण र बितरण: व्यवसायमा बजारीकरण र वितरणले महत्व राख्छ । राम्रो बजारीकरण भएपनि चुस्त बितरण नभएमा व्यवसाय फस्टाउन सक्दैन, त्यसैले समय समयमा बजारको माग र प्रवृति हेरेर बजारीकरण र वितरण व्यवस्थामा परिवर्तन गर्नुपर्छ ।
६. व्यवसाय लञ्चिङ
व्यवसाय लञ्चिङ व्यवसाय प्रर्वदन गर्ने अवशर पनि हो, तसर्थ व्यवसाय सम्भावित ग्राहकलाई लञ्चिङमा बोलाउनु होस । व्यवसाय भएको क्षेत्र वा व्यवसायले समेटने क्षेत्रका मिडियालाई यस्तो कार्यक्रममा नछुटाउनु होस ।
व्यवसायमा समयसमयमा जोडिने सेवा र वस्तुका बारेमा जानकारी दिन पोस्टर वा नोट सबैले देख्ने ठाउमा राख्ने गर्नुस । स्थानीय सञ्चार माध्यमका पत्रकारलाई आमन्त्रण गरेर यी कुराको जानकारी दिदाँ पनि धेरैभन्दा धेरै ग्राहकसम्म पुग्न सकिन्छ ।
Source : Bizmandu

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें