रविवार, 14 अक्टूबर 2018

जागिरे होइन उधमी बनौं

जागीर खाऊँ पाउनै मुश्किल, वैदेशिक रोजगारमा जाऊँ ठगिएला कि भन्ने चिन्ता । आफ्नै व्यवसाय थालौं त पूँजी र ज्ञान छैन । यसैगरी, पुख्र्यौली जग्गाजमीन धितो राखेर विदेश जाऊँ त घर र देश चटक्कै छाडेर जान पनि मुश्किल छ । त्यसमा पनि गलत म्यानपावर कम्पनीको पञ्जामा परियो भने त घरको न घाटको भइन्छ भन्ने चिन्तासमेत उनीहरूमा छ । यस्तै पिरलोमा अहिले युवापुस्ताको दिनचर्या गुज्रिरहेको छ । अब के गर्ने त ? पढेलेखेको मान्छे यत्तिकै बस्न पनि मिलेन । त्यसो भए आफ्नै व्यवसाय किन नथाल्ने ? व्यवसाय त थाल्ने, तर व्यवसायको सुको पनि ज्ञान छैन । उत्पादन र बजारीकरणबारे पनि जानकारी छैन । यसो हुँदा लगानी डुब्ला कि भन्ने चिन्ता हुनु पनि स्वाभाविक नै हो । तपाईं हामीमा आउने यी शङ्काआशङ्का पन्छाउने र नयाँ व्यवसायको सूत्र दिने कोही भइदिएको भए कति जाति हुन्थ्यो । यही कुरालाई दृष्टिगत गरी सरकारले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्थापना गरिदिएको छ । तर, जनस्तरमा यसको प्रचार नहुँदा ज्ञान दिने र लिने दुवैले प्रतिफल पाउन सकिरहेका छैनन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ अनुसार स्थापना गरिएको उक्त प्रतिष्ठानले सम्भाव्य उद्यमी तथा उद्योग व्यवसाय स्थापना गर्न चाहने व्यक्तिका लागि उचित परामर्श दिने काम गर्छ । प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण भट्टराईका अनुसार प्रतिष्ठानले व्यवसाय सृजना तालीम तथा व्यावसायिक सक्षमता विकास तालीम प्रदान गर्छ । यस्तै, कुन व्यवसाय गर्दा लाभदायी हुन्छ भन्ने ज्ञान नभएकालाई उचित व्यवसाय पहिल्याउन समेत सघाउँछ । व्यवसाय छनोट गर्ने काइदाको तालीम पनि प्रतिष्ठानले दिन्छ । व्यवसाय पहिचान र छनोट भइसकेपछिका योजना तथा सम्भाव्यता अध्ययनमा सहायता पुर्‍याइदिने कामसमेत प्रतिष्ठानले गर्छ । स्वदेशमा स्वरोजगार उत्पादन गरी नेपाली पूँजी र श्रम विदेशिनबाट जोगाउने अभिप्रायले गठित प्रतिष्ठानमा उद्योगमन्त्री आफै सञ्चालक समितिका अध्यक्ष छन् । व्यवसाय गर्न चाहनेले अक्कल नपु¥याई नक्कल गरी नयाँ काम थाल्दा निराशा र असफलताबाहेक अरू हातमा पर्दैन । यसले सम्भाव्य उद्यमीको समय र श्रम तथा पूँजी खेर जान्छ । राजधानीको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको प्रतिष्ठानले चितवन, पोखरा र नेपालगञ्जबाट पनि मागबमोजिम निःशुल्क परामर्श दिइरहेको छ । ‘हामी अरूले जस्तो तालीम दिएपछि प्रमाणपत्र दिने काम मात्र गर्दैनौं । व्यवसाय थाल्न आवश्यक सहयोग र परामर्श पनि दिन्छौं,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘व्यवसाय थालिसकेपछि अभिभावकको रूपमा समय समयमा आवश्यक राय, सुझाव र प्रशिक्षण पनि दिइराख्छौं ।’ प्रतिष्ठानले गत सालबाट सीटीईभीटीको सम्बन्धन लिएर १५ महीने उद्यमशीलता विकास सहजकर्ता कक्षा पनि सञ्चालनमा ल्याएको छ । अहिले त्यहाँबाट ४० जना विद्यार्थीले १२ महीने शैक्षिक ज्ञान र ३ महीने प्रयोगात्मक ज्ञान लिइसकेका छन् । एसएलसी उत्तीर्णले निःशुल्क सहभागी हुन यस कोर्समा यस वर्ष पनि ४० जना अध्ययनरत छन् । प्रतिष्ठानले पढेलेखेकालाई मात्रै नभई कम शिक्षित समूहलाई पनि तालीम दिने गर्छ । यसले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को ‘आफ्नो व्यवसाय शुरू तथा सुधार गर्नुहोस्’ कार्यक्रम नेपालको ग्रामीण क्षेत्रमा पुर्‍याएको छ । साथै, प्रतिष्ठानले शिक्षालाई श्रम उत्पादनसँग अनुकूल बनाउन थापाथलीमा मेकानिकल इञ्जिनीयरिङ पढ्ने विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी तालीम दिई मानसिक रूपमा तयार गर्ने काम पनि गरिरहेको कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए । अन्य निकायले जस्तै तालीम दिने मात्र नभई उत्प्रेरणा जगाई व्यवसायमा लाग्न सहयोगसमेत गर्ने संस्था भए तापनि प्रतिष्ठानलाई सरकारले भने तालीम प्रदायक संस्थाको रूपमा मात्रै हेर्दा यसको विकास हुन सकेको छैन । ‘अहिलेका विद्यार्थीको दिमागमा पढेर जागीर खाने र विदेश जाने सोच भरिएको छ । उनीहरूमा उद्यमशीलताको सोच बढाउन सके हाम्रो शीप र जनशक्ति नेपालमै खर्च भई देश परनिर्भरताबाट मुक्त हुने थियो,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘तर, विडम्बना विद्यालय–विद्यालयमा गई उद्यमशीलतासम्बन्धी तालीम दिने बजेट हामीसँग छैन ।’ अन्य राष्ट्रमा उद्यमशीलतासम्बन्धी छुट्टै मन्त्रालयको व्यवस्था हुने उदाहरण दिँदै उनले भने, ‘हाम्रो शिक्षाले जागीर खाने मानसिकता दिन्छ । हामी त्यसलाई सृजनशीलतामा परिवर्तन गरी उद्यमशीलता बढाउँछौं ।’ प्रतिष्ठानले उद्यम व्यवसाय गरिरहेकाहरूका लागि उत्पादन, व्यवस्थापन तथा उत्पादकत्व विकास, बजार व्यवस्थापन, विक्रीकला, वित्तीय व्यवस्थापनलगायत तालीम पनि दिने गर्छ । साथै, उद्योग व्यवसायको विकासमा संलग्न सङ्घसंस्थाका लागि व्यवसाय सृजनशीलता, व्यवस्थापन तथा परामर्शको प्रशिक्षक प्रशिक्षणसमेत दिँदै आएको छ ।अार्थिक अभियानबाट


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें