पैसा कमाउन विदेश नै जानुपर्छ, उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ भन्ने छैन । जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सिकन्दरकुमार ठाकुरले प्रस्तुत गरेका छन् ।
शंकरदेव क्याम्पसबाट वाणिज्य विषयमा स्नातकोत्तर तहको शोधपत्र (थेसिस) लेख्नमा व्यस्त हुने उनी कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेको छ ।
“बुबाले कालोपुलस्थित हाम्रो सैलुन सञ्चालनमा ल्याएको तीन दशक बित्न लाग्यो, नौ वर्षको उमेरदेखि नै बुबासँगै आफूले पनि कैँची चलाउन सिकेँ र यो सँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गएको छु ।” प्रशन्न मुद्रामा ठाकुरले भने ।
अहिले उनी २८ वर्षका भए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट एक लाख राशिको उद्यमशीलता पुरस्कार प्राप्त गरेपछि ठाकुर खुसीले गदगद् भए । पुरस्कार लिएपछि उनले भने– “मैले सोचेको पनि थिइनँ कि यति ठूलो पुरस्कार पाउँछु ।”
बुबा र छोराका साथै अन्य तीनजना पनि सैलुनमा काम गर्छन् । “चार हजारसम्म दैनिक आम्दानी हुन्छ, किन विदेश जानुपर्यो, यही केही गर्न सकिन्छ”, ठाकुरले भने ।
शोधपत्र बुझाएपछि यही व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचाइमा उनी छन् । उच्च शैक्षिक योग्यता हासिल गरेर सैलुन सञ्चालनमार्फत युवामा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्यबापत राष्ट्रपतिले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।
“आँट हुनुपर्छ, आँटले नै व्यक्तित्व बनाउँछ । अपांगले के गर्न सक्दैन ?” अर्का पुरस्कृत युवा सीतानारा थारु भन्दैथिए । उनको कम्मरमुनिको शरीर चल्दैन । ह्विल चियर प्रयोग गर्छन् तर उनी आफू अपांग भएर पनि सांगलाई ज्ञान र सीप बाँड्न तल्लीन छन् ।
थारुले बेलौरी नगरपालिका–६ कञ्चनपुरमा थारु समुदायका महिलालाई उद्यमशील बनाउन कल्पना सिलाइ केन्द्र सञ्चालनमा ल्याएका छन् ।
“अपांग भएपछि लाागेको वचनरुपी घाउलाई मलमपट्टि लगाउन सिलाइ केन्द्र खोलेको हुँ । हाल केन्द्रमा १५ जनाले सिकाइ, कटाइ तथा बुनाइ सिकिरहेका छन्, पाँचजनालाई त रोजगारी नै दिएकी छु”, उनले भने ।
शारीरिक अपांगता भएर पनि उद्यमशील बनेर फरक फरक क्षमतालगायतका युवालाई प्रेरणा र मनोबल उच्च बढाएकाले थारुलाई पनि राष्ट्रपति भण्डारीले एक लाख रुपैयाँको राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरिन् ।
पुरस्कृत हुनेमा दोलखाकी ३३ वर्षीय अविवाहिता सविता उप्रेती पनि छन् । उनले आफ्नो विवाहमा खर्च पाँच लाख रुपैयाँले अटिजम भएका बालबालिकाको लागि विशेष स्कूल तथा पुनःस्थापना केन्द्र स्थापना गरेकी छन् । २०६७ मा स्थापना भएको सो केन्द्रमा ४५ बालबालिका छन् ।
“विवाह गर्ने उमेर नाघ्न लागिसक्यो तर विवाहमा भन्दा सेवामा नै मेरो ध्यान गएको छ”, उनले भनिन् । उप्रेतीले अटिजम भएका बालबालिकाको सेवा र सीप विकास गर्न योगदान पुर्याएबापत रााष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गरेकी हुन् ।
यसैगरी चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएका बर्दियाका हेमन्त आचार्य, उच्च हिमाली जिल्लामा कृषि पर्यटनमा योगदान दिएबापत मनाङका समराज गुरुङ, सगरमाथा आरोहरणमा कीर्तिमान कायम गरेका फुर्वातेञ्जिङ शेर्पा, स्वास्थ्य अनुसन्धानकर्ता वसन्तकुमार शाही, इञ्जिनियरिङ क्षेत्रमा नयाँ खोज गरेका रामु खत्री र कृषि फार्ममा योगदान पुर्याएका विशाल राईलाई पनि ‘युवा प्रतिभा सम्मान पुरस्कार’ प्रदान गरिएको छ ।
त्यसवाहेक विभिन्न विधातर्फ ३० जनालाई युवा पहिचान पुरस्कार प्रदान गरिएको छ । रासस
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें