सोमवार, 22 अक्टूबर 2018

व्यवसायमा कसरी सफल हुने ?

सबै मानिस आफ्नो काममा सफल हुन चाहन्छन् तर थोरै मानिस सफल हुन्छन्, केही मानिस पूरै असफल हुन्छन् र धेरै मानिस सामान्य अवस्थामा रहन्छन् । अर्थात् न धेरै सफल न पूरै असफल । यस्ता मानिस ठिकठिकैको जीवन बाँच्छन् । के कारण होला सबै मानिस सफल हुन चाहने तर थोरै मानिस मात्रै सफल हुने ? यो सबैका लागि खोजी र अनुसन्धानको बिषय बन्ला । मैले यहाँ व्यवसाय क्षेत्रमा सफल हुन के गर्नुपर्ला ? भन्ने बारेमा मेरा केही सिकाइ, अनुभव र बुझाइलाई सम्झने कोसिस गर्दछु ।
पहिला, सफल केलाई मान्ने ? यो बारेमा पनि अलिकति चर्चा गर्नुपर्ला । व्यवसायको कुरा भएकाले धेरैलाई के लाग्न सक्छ भने व्यवसायमा सफल हुनु भनेको धेरै पैसा कमाउनु वा आर्जन गर्नु हो भन्ने लाग्न सक्छ । सफल हुनुको सुत्र यसैलाई मात्रै मान्ने हो भने सायद जसरी भएपनि पैसा कमाउनुलाई सफल भएको मान्न सकिएला । तर, व्यवसायमा सफल हुनुको मानक यतिलाई मात्रै मान्न सकिँदैन । नेपालीमुलका नर्वेजियन प्राडा. विशाल सिटौलालाई एउटा साधारण मानिसले भनेको र उनलाई मन परेको कुरा रहेछ ‘हातमा काम होस्, ज्यानमा सञ्चो होस् र मनमा शान्ति होस् ।’ यतिभए मानिस सफल भएको मान्न सकिन्छ । एउटा साधारण मानिसको यो दर्शन साच्चैको घतलाग्दो छ । यी भनाइको अर्थ खोज्दै जादा मैले सानैदेखि सुनेको र मेरा अग्रजबाट हरेक दसैँको टिकासँगै मैले पाउने गरेको आशिर्वाद अर्थात् आशिकलाई सम्झेँ । मलाई आशिक दिने मानिस कुनै पढेलेखेका, परिचित, विद्वान, ठुला मानिस थिएनन् । थिए त मेरा नाताले ठूला र उमेरले जेठा । उनीहरु प्राय सबैले भन्ने गरेको र मैले पनि कतिलाई भनँें ‘शोक नपरोस्, रोग नलागोस् र दिई खानु परोस् मागी खानु नपरोस् ।’ अहो यो आशिकमा कत्रो दर्शन रहेछ भन्ने अहिले पो लाग्न थालेको छ । मेरा मित्र प्राडा. विसालजीले मन पराएको सुत्र र यसमा खासै फरक छैन । मैले के बुझेँ भने जीवनको सफलताका लागि आवश्यक सुत्रहरु त हामीले सुन्दै र भन्दै आएका रहेछौँ तर तिनलाई बुझ्न कोसिस गरेनछौँ जस्तो लाग्यो ।
एउटा व्यवसायीले हाम्रो मानक अनुसार धेरै पैसा कमायो तर उनको मनमा कहिल्यै शान्ति भएन भने त्यो धनले मात्रै नहुने रहेछ । मनमा अशान्ति आउने कारण चाहिँ त्यो धन आर्जन गर्दा अपनाएको विधि वा तरिका हुनसक्छ । जस्तै व्यवसायीले देखाउन त व्यवसाय नै गरे तर त्यो व्यवसायलाई माध्यम बनाएर उनले लगातार ठगी गरिरहे भने उनले ठगेका मानिस, संस्था, निकाय वा राज्य पक्षबाट आपूmलाई सधँ असुरक्षित मान्दा मनमा शान्ति त नहुने नै भयो । मनमा जव अशान्तिको भाव आउँछ तव ज्यानमा तलमाथि पर्ने विसञ्चो हुने त भइनै हाल्छ । ती साधारण मानिसले सफल हुन धेरै पैसा होस् भनेनन् । यति भने ‘हातमा काम होस् ।’ एउटा व्यवसायीका लागि हातमा काम होस्को अर्थ हुन्छ व्यवसायको निरन्तरता होस् । यसो भयो भने हातमा कामको खाँचो हुँदैन ।
व्यवसायले कति धेरै पैसा दिन्छ त्यो मुख्य कुरा होइन । मुख्य कुरा व्यवसाय निरन्तर चलायमान होस् । त्यसको आम्दानीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सकियोस् । अब मनमा शान्ति हुन व्यावसायिक पहिचान होस् र आफ्नो सम्पर्कमा रहने सबैसँग सौहार्द सम्बन्ध होस् । हातमा काम र मनमा शान्ति भयो भने ज्यानमा रोग लाग्न नदिन अलिकति होस पु¥याए पुग्छ । बलिउडकी चर्चित सिने अभिनेत्री मनिषा कोइरालाले एउटा कार्यव्रmममा भन्नु भएछ ‘सफल जीवनका लागि व्यावसायिक पहिचान, परिवारको साथ र स्वास्थ शरीर ।’ यो अभिव्यक्ति त्यो बेला आएको थियो, जुन समयमा उनको फिल्म करियर ओरालो लागेको थियो, दाम्पत्य जीवनमा पारपाचुके भएको थियो र उनी क्यान्सरसँग लडाइँ गरेर भर्खरै स्वास्थ्य लाभ गरेको अवस्था थियो । मनिषासँग जीवन चलाउन पुग्ने पैसाको कमी थिएन । उनले पनि सफल हुनुको सुत्र पैसा हो भनिनन् ।
व्यवसाय सफल हुनुको अर्थ जीवनसँग पनि जोडिएको हुन्छ र यो पैसा कमाउनुमा मात्रै सीमित छैन भन्ने हो । अहिले नेपाली बजारमा व्यवसाय शुद्ध व्यवसाय मात्र हुन सकेन । यसमा ठगीको मिश्रण अर्थात् घुलन हुन पुग्यो । व्यवसायमा ठगीको घुलन बाक्लिँदै जाँदा व्यवसाय कम र ठगी बढी हुन पुगेकाले उपभोक्ताले व्यवसायीलाई विश्वास गर्न छाडे । ढुक्कले समान र सेवा किन्न र भर पर्न सकिने अवस्था छैन । महात्मा गान्धीले भनेका छन् ‘श्रम विनाको सम्पत्ति पाप हो ।’ त्यसैगरी आर्जित सम्पत्तिमा इमान र नैतिकता भएन भने त्यस्तो सम्पत्तिले मानिसलाई चैनले सास फेर्न दिने छैन । भलै अरुको नजरमा ती केही समयका लागि सफल जस्ता देखिएलान् ।
श्रम, सीप, इमान, नैतिकता र योगदान विनाको धन न दिगो हुन्छ न उपयुक्त हो । एउटा व्यवसायीले आपूmले आर्जन गरेको मुनाफाको औचित्य सधँै खोज्नु पर्छ । यदि आर्जन गरेको मुनाफामा सेवाको भाव र कर्म भएन भने त्यो ठगीमा परिणत हुने खतरा हुन्छ । ठगहरु पनि धनी हुन सक्छन् भन्ने भनाइ हाम्रो समाजका लागि त्यत्ति सुहाउँदैन । बरु यो समाजका लागि त धनीहरु मध्ये धेरै ठग हुन् भन्दा बढी उपयुक्त हुन्छ । ठगीको कुरा यतिमै सीमित छैन । यहाँ सबैले सबैलाई ठग्नै खोज्छन् भन्दा अत्युक्ति हँुदैन । जव व्यवसाय तथा पेसाको ठाउँमा ठगीको भाव वा मनसाय अगाडि आउँछ तव पेसा÷व्यवसायमा असफलताको सुरुवात त्यहीँबाट सुरु हुन्छ । तर, यो व्यवहारले पुष्टि नगरुन्जेल विश्वास गर्न कठिन हुन्छ । त्यसैले धेरैको विश्वास के हुन्छ भने व्यवसायको धर्म भनेको ग्राहकसँग बढी नाफा लिएर सामान र सेवा बेच्नु हो । यसलाई पुष्टि गर्ने हिन्दीमा एउटा उखान छ ‘वेद्य, व्यापारी, ओझा कभि नही बोल्ता सोझा ।’ नेपालीमा पनि यस्ता केही उखान चल्तीमा छन् ‘सोझो औलाले घिउ आउँदैन’ । त्यसैले होला हाम्रो समाजमा धूर्तको परिभाषा नै फेरिएर ‘बाठो’ भन्ने अर्थ लगाइन्छ ।
जीवनमा सफल मानिएका व्यवसायीलाई धेरैले सोध्ने गर्छन् ‘तपाईंको सफलताको राज के हो ?’ यो प्रश्वको जवाफमा बुँदागत रुपमै जवाफ दिने गरेको सुनेको र पढेको छु । त्यसमा कसैले पनि नछुटाइ भन्ने गरेको विषय हो ‘इमानदारी’ । कतिलाई लाग्छ सत्य कुरा भन्यो भने त व्यवसाय नै चल्दैन । तर, जो सफल हुन्छन् तिनले सत्य भन्ने गर्छन् । जसले ढाँटछन्, बारम्बार झुट बोल्छन् ती पनि सफल हुन्छन् । फरक यति हो जो सत्य बोलेरै व्यवसाय गर्छन् तिनले सुरुमा कठिन महसुस गर्छन् अस्थायी प्रकारको असफलता पनि हात लाग्छ । तर, जसले झुट बोलेर सफलता हात पार्छन् तिनको सफलताको आयु एकदमै छोटो हुन्छ । जो सत्य बोल्छन् तिनको असफलताको आयु छोटो हुन्छ । व्रmमशः सफलताको बाटो समाउन पुग्छन् । सारमा भन्दा जसले व्यवसायमा धैर्य र इमान कायम राख्न सक्यो ऊ सफल हुने बाटोमा लाग्यो र जसले बेइमान ग¥यो, अधैर्य भयो उसले असफलता र पीडाको बाटो समात्यो । सायद यसैलाई कर्मको फल भनिन्छ होला ।
सफल हुन चाहने व्यवसायीले को–कोसँग इमानदार हुने भनेर सीमा राख्नु हुदैन । पहिला आपैmसँग इमानदार हुने र सम्पर्कमा आउने सबैसँग इमानदार हुने । कहिलेकाँही यस्तो लाग्न सक्छ मैले सधैँ साँचोमात्रै बोले भने त मेरो व्यवसाय नै हँुदैन । यदि झुट बोलेर मात्रै व्यवसाय हुने अवस्था छ भने तपाईं व्यवसायमा मात्रै होइन जीवनमा सफल हुन त्यस्तो व्यवसाय नै बदल्नु पर्छ । ब्राण्ड अर्थात् इमेज प्रोडक्ट र कम्पनीको मात्रै होइन, व्यक्तिको पनि हुन्छ भन्ने कुरामा पहिला विश्वास गरौँ । अब भन्नुहोस् तपाईं आफ्नो ब्राण्ड वा इमेज कस्तो होस् भन्ने चाहनुहुन्छ ? ब्राण्ड भनेको तपार्इंको पहिचान । ठग, झुट बोल्ने, बोलीको ठेगान नभएको, कुरौटे, विश्वास गर्न नसकिने, भरोसा गर्न नहुने, लेनदेनमा विश्वासै गर्न नसकिने यस्तो इमेज बनेको त पक्कै मन पराउनु हुन्न । त्यसो हो भने आफ्नो इमेज बिग्रने काम कहिल्यै नगर्नुहोस् । मेरो विचारमा साधारण मानिसहरु एउटा ठूलो भ्रममा बाँचेका छन् । त्यो के भने म अरुलाई चिन्दछु र अरुले मलाई चिन्दैनन् भन्ने । जस्तै, हामी चिनजान सङ्गत गरेका अरु सबै मानिसका बारेमा धारणा बनाउँछौँ । असल छ, खराब छ, ठिकै हो, सङ्गत गर्नु पर्छ÷पर्दैन, होसियार हुनुपर्छ, विश्वास गर्न सकिन्छ, भर पर्नु हुन्छ÷हँुदैन आदि । अरु मानिसका बारेमा हाम्रो मनमा यो किसिमको धारणा के कारणले जन्मन्छ ? अनुमान गरौँ त । मेरो बुझाइमा हामीले सङ्गत गरेका, चिनेका, कारोवार अर्थात् लेनदेन गरेका मानिसका बारेमा हाम्रा मनमा एक प्रकारको धारणा जुन बन्छ त्यो नाम, थर, आस्था, उचाइ, मोटाइ, गोरो, कालो, लिङ्ग, पहिरन, शिक्षा, धन, पेसा आदिका कारणले भन्दा पनि निजको बोली, आचरण, क्षमता, व्यवहार आदिका कारण कसै प्रतिको धारणा बन्ने गर्छ ।
हो, मेरा बारेमा पनि अरुले धारणा बनाउँछन् भन्ने सत्यलाई स्वीकार्नु पर्छ र अरुले बनाउने धारणाको आधार मेरो काम, कर्म, व्यवहार, चालचलन, बोली÷वचन आदि नै हो भन्ने बुझाइ भयो भने हामी आफ्नै अवमूल्यन हुने गरिको व्यवहार गर्दैनौँ । यसका लागि हाम्रा आफ्नै विश्वास र मान्यता हुनुपर्छ । जस्तै लुकेर गर्न हुन्छ, अरुले थाहा नपाउने गरी गर्न हुन्छ, यति त हो । यसपालिलाई मात्रै गरेको अव गर्दिन जस्ता आपैmँलाई विचलित र कमजोर बनाउने मान्यतालाई छाड्नै पर्छ । अर्को अर्थमा आफ्नो विश्वासलाई दह्रो बनाउनु पर्छ । यो बलियो विश्वास र विश्वास अनुसारको कर्म भयो भने व्यवसायमा ठगीले प्रवेश पाउने छैन । ठगी नमिसिएको व्यवसायमा नैतिकता, इमानदारिता र न्याय हुन्छ । व्यवसायमा नाफा लिनु धर्म हो । नाफा दिन नै ग्राहक आउँछन् । तर, त्यो सीमा विहीन हुनु हँुदैन । कोही अन्जानलाई झुट बोलेर सीमाविहीन नाफा लिनु व्यवसायको धर्म होइन । मूल्यमा आधारित सेवाको गुणस्तर भएमा व्यवसाय कहिल्यै असफल हुँदैन । तर, व्यवसायमा मूल्य कम र ठगी धेरै भयो भने बुझे हुन्छ ठगिनेले भन्दा ठग्नेले बढी मूल्य चुकाउनु पर्छ ।

रामचन्द्र उप्रेती


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें