मंगलवार, 25 दिसंबर 2018

व्यवसाय सुरु गर्दा समानको मूल्य कसरी तोक्ने ?

बजारमा भएको कुनै पनि वस्तु वा सेवा लिनको लागि हामी सबैले केही मूल्य तिर्ने गर्छौ । बजारमा बेच्नको लागि राखिएका हरेक वस्तुको आफ्नै मूल्य हुन्छ  किनभने मूल्यको कारणले गर्दा नै वस्तुको महत्त्व बढ्छ । त्यसैले कुनै पनि व्यापारीले वस्तुको मूल्य तोक्दा धेरै ध्यान पुर्‍याउनु पर्ने हुन्छ । व्यवसायीहरुले वस्तुको मूल्य तोक्दा देशको  आर्थिक स्थिति, उपोभोक्ताको खर्च गर्ने क्षमता आदिको आधारमा निर्धारण गर्नु  पर्ने हुन्छ । वस्तुको मूल्य तोक्ने उदेश्यहरू थुप्रै हुन्छन् जस्तै नाफा आर्जन गर्नु, बजारमा आफ्नो वस्तुको व्यापार बढाउनु, प्रतिस्पर्धा सामना गर्नु वा हटाउनु, आदि ।
वस्तु वा सेवाको मूल्य कसरी तोक्ने भन्नेबारे यस लेखमा जानकारी दिएको छ । मुख्यत वस्तु वा सेवाको मूल्य निर्धारण गर्ने तिन वटा तरिकाहरू छन् जुन निम्न दिएको छ:
  • लागत मूलक मूल्य निर्धारण गर्ने ( Cost-oriented Pricing)
यस विधि अनुसार, वस्तुको मूल्य निर्धारण गर्दा त्यस्मा लागेको खर्च वा लगानीको जम्मा जोडफलको आधारमा नाफा समेत जोडेर मूल्य तोक्नु पर्छ । यो विधि प्रयोग गर्नुको मूल उद्देश्य भनेको उत्पादक कम्पनीहरूले गरेको लगानी उठाउनु मात्र हो । त्यसैले यस विधिलाई सबै भन्दा सजिलो मानिन्छ । जस्तै, निम्न उदाहरणमा वस्तुको मूल्य कसरी निकाल्ने भन्ने बारे बुझाईएको छ -
मानौं,
उत्पादित वस्तुको सङ्ख्या (No. of production) = १,०००
प्रत्यक्ष खर्च (Direct Expenses) = रु १०,०००
स्थिर खर्च (Fixed Expenses) = रु ५,०००
जम्मा लागत (Total Cost) = प्रत्यक्ष खर्च + स्थिर खर्च
                      = १०,००० + ५,००० = १५,०००
प्रति यकाई लागत (Cost per unit) = रु १५,००० / १,००० = रु १५
नाफा ( Profit per unit) = रु ५ प्रति वस्तु
वस्तु को मूल्य (Sales Price) = प्रति यकाई लागत + नाफा प्रति वस्तु
                         = रु १५ + रु ५ = रु २०
तसर्थ, यस उदाहरण अनुसार एउटा वस्तुको मूल्य रु २० राखिनु पर्दछ । तपाईहरुले पनि यसरी नै आफ्नो उत्पादित वस्तुको मूल्य निकाल्न सक्नु हुन्छ । वस्तुमा के कस्ता प्रत्यक्ष खर्च लागे जस्तै कच्चापदार्थ किन्दा कति खर्च लग्यो, कामदारलाई ज्याला, इतिआदि र स्थिर खर्च जस्तै बिजुली खर्च, घर भाडा, कर्मचारीको तलब, आदि सबैको मुल्यांकन गरेर जम्मा लागत निकाल्नु पर्छ र आफुलाई कति नाफा लिने त्यसको विचार गर्नु पर्छ  ।
  • माग मूलक मूल्य निर्धारण गर्ने (Demand-oriented Pricing)
यस विधि अनुसार, बजारमा वस्तुको मूल्य त्यसको माग र आपूर्तिद्वारा तय गरिन्छ । एदी कुनै वस्तुको माग बजारमा बढ्दै छ भने त्यति बेला त्यो वस्तुको मूल्य थोरै बढाएर नाफा कमाउन सकिन्छ । त्यसैले यो विधि प्रयोग गर्न व्यवसायीहरु उपभोक्ताको माग कस्तो छ भन्ने बारे बुझ्न बजारमा अनुसन्धान कार्य गर्न आवश्यक छ । वस्तुको मूल्य त्यसको लाभ र गुणस्तरका आधारमा निर्धारण गर्नु पर्ने हुन्छ । उपभोक्तालाई उच्च गुणस्तरको सामान सस्तो मूल्यमा दिने हो भने उनीहरू त्यस उत्पादक कम्पनी प्रति बफादार हुन्छन् ।  कम्पनीले वस्तुको मूल्य निर्धारण गर्दा, वस्तुले उपभोक्तालाई जति बढी लाभ प्रदान गर्न सक्यो त्यतिनै वस्तु प्रतिको आकर्षण वृद्धि हुन्छ र कम्पनीले धेरै नाफा सिर्जना गर्न सक्छ ।
त्यसै गरी कम्पनीले ध्यान दिनु पर्ने अर्को कुरा भनेको उपभोक्ता आयस्तर र वस्तु खरिद प्रति देखाउने चासो कुन ठाउँमा के कस्तो छ भनेर बुझ्न जरुरी छ किनभने उपभोक्ताको आयस्तर ठाउँ अनुसार फरक रहन सक्छ र उनीहरूको वस्तु खरिद प्रति देखाउने चासो पनि ठाउँ अनुसार भिन्न हुन सक्छ ।   
  • प्रतिस्पर्धा मूलक मूल्य निर्धारण गर्ने (Competition-oriented Pricing)
यस धारणा अनुसार वस्तुको मूल्य बजारमा उक्त वस्तुको प्रतिस्पर्धाको मात्रा हेरेर निर्धारण गरिन्छ । धेरै जसो कम्पनीहरूले आफ्नो वस्तुको एकाधिकार कसरी कायम गर्ने भन्ने कुरामा बढी ध्यान दिएको हुन्छ । बजारमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा वस्तुको गुणस्तरमा ब्रिधि गरेर मूल्यमा केही कम गरी वस्तुलाई  बजारमा पठाउँदा त्यस कम्पनीको वस्तुले प्रतिस्पर्धा गर्न सक्छ र केही हदसम्म भए पनि बजारमा एकाधिकार कायम गर्न सक्छ । तर हेरेक समयमा यही तरिका नमिल्न सक्छ । नयाँ व्यवसायीले आफ्नो वस्तुको मूल्य बजारमै भएको कुनै प्रतिस्पर्धी कम्पनीको वस्तुको प्रचलित दर मूल्य छ भने सोही अनुसार पनि निर्धारण गर्न सक्छन् । त्यसै गरी आफूले उत्पादन गरेको वस्तु अरू कम्पनीले उत्पादन गरेको वस्तुहरू भन्दा केही फरक छ र राम्रो गुणस्तरको छ भने त्यस्तो वस्तुको मूल्य प्रतिस्पर्धी वस्तुहरूको भन्दा अलि बढी राखेर मूल्य निर्धारण गर्न पनि सकिन्छ ।
यी त भए वस्तुको मुल्य निर्धारण गर्ने केही तरिकाहरु । यदी तपाईं पनि आफुले उत्पादन गरेको वस्तुको मूल्य कति राख्ने भन्ने बारे सोची रहनु भएको छ भने आफ्नो व्यवसाय अनुसार माथि दिएका तरिकाहरु अपनाउन सक्नु हुन्छ  ।

तपाई म्यानेजमेन्ट स्टुडेन्ट हुनुहुन्छ ? हेर्नुस् पैसाको म्यानेजमेन्ट गर्ने १० टिप्सहरु

बैंकिङ खबर / तपाई म्यानेजमेन्ट विद्यार्थी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईलाई अनिवार्य केही कुरा चाहिन्छ । सामान्य रुपमा अर्थतन्त्रको व्यबस्थापन अर्थात पैसाको सुरक्षा र बचतका लागि महत्वपूर्ण मानिने केही टिप्सहरु यहाँ उल्लेख गरिएको छ ।  खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।
आय स्रोत
आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गर्नुपर्छ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्नुपर्छ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।
बचत
वित्तीय साक्षरताको मुख्य प्रयोजन बचत हो । नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल व्यक्ति हो । विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्नुपर्छ । बैङ्क खाता खोलेर बचत राख्नुपर्छ । साथै, लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नुअगाडि विस्तृत छलफल गरेर निर्णय लिनुपर्छ । अवकाशपछिको समय तथा बच्चाको शिक्षा र अन्य खर्चका लागि पनि बचत गर्नुपर्छ ।
कारोबारको लेखा
कमाउनु जत्तिकै जोगाउनु तथा सुरक्षा गर्नु पनि महत्वपूर्ण छ । कमाइ भएर पनि सम्पत्ति सुरक्षा गर्न नसक्दा मानिसहरू गरीब भएका छन् । 
वित्तीय सुरक्षा
जबसम्म कमाएको सम्पत्तिको सुरक्षाका बारेमा मानिसहरू सचेत हुँदैनन्, तबसम्म स्थायी आर्थिक उन्नति हुन सक्दैन । विपन्न परिवारले लघुवित्त संस्थामार्फत कर्जा लिएर भैंसी वा गाईपालन गरेर परिवार चलाइरहेका हुन्छन् । अकस्मात् गाई तथा भैंसीको मृत्य अथवा अनुत्पादक भएमा निकै ठूलो वित्तीय सङ्कट आइपर्छ । त्यसैले पशुधन र व्यवसायको बीमाका साथै कमाउने व्यक्तिको जीवनबीमा अनिवार्य गरिनुपर्छ । यस्तै गरी हरेक कारोबारको लेखा राख्ने, बिलभरपाई लिनेदिने र जालसाजी तथा ठगीबाट सुरक्षित हुने कुरा पनि सामान्य मानिसलाई सिकाउनुपर्छ ।
खर्चका लागि पूर्वयोजना
वित्तीय साक्षरताको कारण न्यून आय भएका मानिसहरू खर्च कटौती गरेर बचत गर्न सक्नेछन् । वित्तीय साक्षरताको स्तरबाटै व्यक्तिको जीवनस्तरलाई प्रभाव पार्छ । अरूको पैसा लिएर व्यवसायको सृजना गर्ने तथा विक्री बढाएर बढी नाफा कमाउने कुशलता पनि वित्तीय साक्षरताले दिन्छ । वित्तीय रूपमा साक्षर व्यक्तिले आर्थिक अवसरको उपयोग गर्न, लक्ष्य पूरा गर्न, परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै वित्तीय रूपमा सबल समाजको सृजना गराउँछ ।
वित्तीय साक्षरताको महत्व
आर्थिक तथा वित्तीय क्षमतामा सुधार ल्याएर निपूर्णता र सबलताका साथ आर्थिक तथा वित्तीय निर्णय लिन सक्ने बनाउनका लागि वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ ।
ऋण शिक्षा
व्यवसाय सञ्चालन तथा अन्य आवश्यकताका लागि बजारमा केकस्ता ऋण सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ, केकति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ, आदि सूचना राम्ररी थाहा पाउनु नै ऋण शिक्षा हो ।
वित्तीय विधि
आफूले आर्जन गरेको आम्दानी तथा सम्पत्ति के कसरी सुरक्षित गर्न सकिन्छ, सुरक्षाका विधि केके हुन सक्छन्, सुरक्षा गर्दा केकति लागत लाग्छ जस्ता वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरिन्छ ।
वित्तीय व्यवस्थापन
वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको वर्तमान तथा भविष्यको मूल्यजस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु पनि वित्तीय साक्षरता नै हो । व्यवसायको विकास र विस्तार, व्यवसाय सृजना तथा प्रर्वद्धन पनि वित्तीय साक्षरताको उद्देश्य हो । वित्तीय साक्षर व्यक्तिले आफ्नो आय वृद्धि गर्न, आफ्नो काम तथा व्यवसायको प्रवद्र्धन कसरी गर्ने, कति आम्दानी गर्न सकिन्छ भन्ने सम्बन्धमा सही निर्णय लिन सक्छ । त्यसै गरी ग्राहक सम्बन्ध, बजार व्यवस्थापन, उत्पादन व्यवस्थापन, मौज्दात व्यवस्थापन आदि ज्ञान दिनु पनि वित्तीय साक्षरताको उद्देश्य हो ।
वित्तीय संस्थाको उद्देश्य
आफ्नो आवश्यकता र अवस्था सुहाउँदो उत्तम वित्तीय सेवाको छनोट गर्नु, निर्णय गर्नु तथा उद्यमशीलता वृद्धि गरी आम्दानी बढाउनु वित्तीय शिक्षाको उद्देश्य हो ।

रविवार, 28 अक्टूबर 2018

उद्यम र उद्यमी

नेपाल किन बनेन भन्ने बारेमा धेरै चर्चा भएको छ। नेपाल नबन्नुमा यो मुलुकमा उद्यम गर्ने उद्यमीको कमी छ भन्ने एउटा भनाइ जबर्जस्त रूपमा प्रस्तुत भएको छ। केही दिन अगाडि भारतको हरियाणामा भएको एउटा सहकारी तालिममा प्रशिक्षक प्रोफेसर डा. डि.एन. राम यादवले नेपालका बारेमा धेरैबेर प्रशंसा गरे र सम्भावना देखाए। त्यतिमात्रै गरेनन् नेपाल पछि पर्नुको कारण पनि भने ‘नेपालमा उद्यमको कमी छ’। यसो भनिरहँदा उनले हामी सहभागी नेपालीसँग माफी मागेका थिए। तर यथार्थ कुरा भनेका थिए।
उद्यमबिना कुनै पनि देश विकशित भएको छैन। नेपाली शब्दसागरका अनुसार उद्यम भनेको उद्योग, इलम, जीवन निर्वाहका लागिको उपार्जनलाई गरिने काम वा श्रम, मेहनत, व्यपार, व्यवसाय, प्रयत्न, प्रयासलाई जनाइएको छ। र, उद्यमी भनेको उद्योगी, प्रयत्नवान्, परिश्रमी, कर्मशील भनिएको छ। यो अर्थको सारलाई यसरी भन्न सकिएला उद्योग भनेको आय आर्जनका लागि गरिने काम, पेशा, व्यावसाय र उद्यमी भनेको त्यो काम गर्ने मानिस।
देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारीको सृजना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ, व्यवस्थापकिय क्षमताको विकास हुन्छ र जोखिम लिने आँट पलाउछ, आयात घट्छ र निर्यात बढाउने सम्भावना बढ्छ, राज्यको व्यपार बढ्छ, व्यक्ति-व्यक्तिमा शिप र दक्षताको विकास हुन्छ। अनुसन्धान र खोजको विकास भएर नयाँनयाँ प्रविधि पहिल्याउन सकिन्छ। यी र यस्ता अनेक फाइदा हुन्छन् यदि देशमा उद्यमको विकास भएमा।
उद्यम विकास भनेको तुरुन्तै फाइदा हुने क्षेत्र होइन। यसमा लगानी लगाएर फाइदा लिन धेरै पर्खनुपर्छ। तर व्यपारमा लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ। व्यपार र उद्यमको फरकलाई छोटकरीमा यसरी भन्न सकिन्छ व्यापार भनेको बस्तु किन्नु र केही नाफा लिएर बेच्नु हो यसलाई अङ्ग्रेजीमा ट्रेडिङ भन्ने गरिन्छ भने उद्यम भनेको कच्चा समान किनेर प्रशोधन गर्ने र नयाँ ‘प्रोडक्ट’ बनाएर बेच्ने अवस्थामा पुर्‍याउनु हो। उद्यमले प्रतिफल दिन लामो प्रक्रिया पूरा गर्नुपर्छ भने समय पनि धेरै लाग्छ।
उदाहरणको रूपमा यसरी भन्न सकिन्छ। यदि तपाई आँप बेचेर नाफा कमाउन चाहनुहुन्छ भने बजारमा होलसेलमा आँप किन्नु होस् र केही नाफा लिएर बेच्नुहोस्। यहाँ पनि नाफा हुन्छ। यो व्यपार हो। तर उद्योग होइन। तपाइँ आँप बेचेर नाफा कमाउन चाहनुहुन्छ तर तपाइँको लक्ष आँप उत्पादन नै गरेर बेच्ने हो भने तपाइँमा उद्यमी हुने गुण छ र यो अभियानमा लागेपछि तपाइँ उद्यमी बन्नु हुनेछ। त्यसका लागि आँपको खेती गर्ने जमिन, सुहाउदो हावा पानी र माटो, उपयुक्त जातको बिरुवाको छनौट, बिरुवाको गोडमेल र बचाउ गर्नुपर्छ। त्यतिले मात्रै पुग्दैन निश्चित समयको पर्खार्इको आवश्यक्ता पनि पर्छ। त्यति भएपछि मात्र त्यो व्यवसायले उत्पादन वा फाइदा दिन शुरु गर्छ। तर यस्तो फाइदा व्यापारमा जस्तो क्षणिक नभइ वर्षौ हुने गर्छ।
व्यापारमा जोखिम कम हुन्छ तर उद्यममा जोखिम बढी हुन्छ। व्यापार अल्पकालिन नाफाको बाटो हो भने उद्यम दीघकालीन बाटो हो। उद्यमी हुन चाहनेले परसम्मको भविश्य देख्नुपर्छ, जोखिम लिन र लगानी गर्ने आँट गर्नु पर्छ। जापानी लेखक कियोसाकी आÇनो ‘रिच ड्याड पुवर ड्याड’ पुस्तकमा उद्यमलाई एउटा विरुवासँग तुलना गर्नु हुन्छ। जुन एकदमै सही छ। उहाँको भनाइ अनुसार एउटा ठूलो रुख बनाउन पहिला धेरै सानो विउको दानालाई भुइँमा रोप्नुपर्छ। त्यसलाई उमार्न, हुर्काउन, हावाहुरी र वस्तुभाउबाट बचाउन, घामपानी, मलखादको मात्रा मिलाएर स्याहार गर्न, दुष्ट किराहरूबाट बचाउन धेरै नै मेहनत गर्नुपर्छ। जबकि यो बेलामा त्यो विरुवाले कुनै प्रकारको आम्दानी वा फाइदा दिँदैन। बरु सानो ठक्करले त्यसको ज्यानै पनि जान सक्छ। तर जब त्यो विरुवा हुर्कर्ंदै जान्छ त्यसले जमिनबाट आफैखाने तत्व लिन सुरु गर्छ। हावाहुरी थेग्न सक्ने हुन्छ। कसैले एउटा हाँगो काटेछ नै भने पनि खासै फरक पर्दैन। जनावर र साधारण दुष्ट किराले नोक्सानी पुर्‍याउन सक्तैनन्। जब यो बिरुवा ठूलो हुन्छ तब यसको हेरचाह धेरै गर्नुपर्दैन तर यही बेला यसले फल दिन शुरु गर्छ। फल मात्रै दिदैन सितलता दिन्छ, ओत दिन्छ, घाँसदाउरा दिन सक्छ, र बुढो भए पछि काठ पनि दिन सक्छ। यसले मानिसको जीवन जत्तिकै लामो अवधिसम्म आम्दानी दिइरहन सक्छ।
उद्योग एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ। उद्योगको कानुनी स्वामित्व केही व्यक्ति वा समूहमा देखिए पनि वास्तवमा उद्योग राष्ट्रको र समाजको सम्पति हो। यसले समाजमा धेरै मानिसलाई जोड्छ। धेरैलाई रोजगारी जुटाइदिन्छ भने राज्यलाई कर तिर्छ।
नेपाल किन गरिब भयो भन्ने प्रश्नतिर विचार गर्ने हो भने नेपालमा उद्योगको जग नै धेरै सानो छ। मानिसमा उद्यमी हुने आँट र चेतना धेरै छैन। लगानी गरेर पर्खने धैर्यता छैन। उद्यमी हुँदाको फाइदाका बारेमा प्रष्टता छैन। त्यसैले मानिस लगानी गर्ने पैसा भए पनि उद्योगमा लगानी गर्न हच्किन्छन्। उध्योग सञ्चालन गर्न निक्कै उन्नत स्तरको व्यवस्थापकिय क्षमता चाहिन्छ। यो केही पढेर र केही परेर सिक्ने कुरा हो तर जसले गर्दै गरेन उसले कहिले परेर सिक्न सकिन्छ र ?
उद्यम भनेको एकैचोटी ठूलो हुँदैन। यो सानो बाट ठूलो हुदै जाने प्रक्रिया हो। केहीकेहीलाई एकैचोटी ठुलो उद्यमको मालिक हुने सौभाग्य पनि जुट्छ। तर यो साहै्र थोरैलाई मात्र जुट्छ। यस्तो सुविधा कुनै धनी र उद्यमी परिवारमा मात्रै सम्भव छ। जस्तो मोहन गोपाल खेतानका छोरा राजेन्द्र खेतान, विनोद चौधरीका छोरा निर्माण चौधरी आदि। तर बाबुबाजे धनी हुँदैमा सबै उद्यमी नै हुन्छन् भन्ने छैन। त्यस्ता बाबुआमा बाट धन त प्राप्त होला तर उद्यम प्राप्त हुदैन। जस्तै झापा विर्तामोड निवासी टोरूप प्रसाईलाई पैत्रिक धन प्राप्त भयो तर उहाँ उद्यमी बन्न सक्नु भएन।
उद्यम भनेको अर्को अर्थमा इलम पनि हो। मेरा एकजना सहकर्मी मित्र नारायणप्रसाद कोइराला मध्यम वर्गीय परिवारका मानिस हुन्। उनलाई खानलाउन र गर्जो र्टार्न कुनै दुख छैन। तर उहाँले मसँगको कुराकानीमा धेरै पटक ‘उद्यम वा इलम नभई नहुने रहेछ। कसैले के गर्नु हुन्छ ? भनेर सोद्धा जवाफ दिनै गाह्रो पर्दो रहेछ। बैड्ढमा ऋण लिन गयो के गर्नु हुन्छ ? भन्छन्। सम्पत्ति त छ नि तर उद्यम, इलम नहुँदा दुनियाँले पत्याउँदो रहेनछ’ भन्ने गर्नु हुन्थ्यो।
मध्यम वर्गीय मानिसको बाहुल्यता भएको हाम्रो समाजमा उद्यम वा इलम गर्न संकोच लाग्ने एउटा कारण छ। त्यो के भने सानो तिनोमा आँखा लाग्दैन ठूलो गर्न आँट र पूँजीको अभाव हुने गर्छ। उद्यम भनेको एकैचोटी ठूलो हुन त विरासतबाटै प्राप्त हुनुपर्छ। जस्तो विनोद चौधरीका छोराहरूलाई प्राप्त भयो। तर विनोद चौधरी स्वयंले पनि निकै सानो व्यवसायबाट आजको अवस्थामा आएका हुन भन्ने भुल्नु हुँदैन। उद्यमको बिउ भनेको विशाल बरपीपलको सानो बिउ दानाजस्तो मात्रै हो। त्यसले अनुकूल स्याहार र हावापानी, माटो, प्रकास पायो भने बिसाल बोट बन्न सक्छ।
एउटा सानो उदाहरण लिउँ झापाको धाइजन निवासी घनस्याम चिमरिया २०५० साल तिर जिविकाका लागि अर्काको साइकलमा ज्यालामा दूध बोक्ने गर्थे। यति गरेबापत महिना दिनमा १२।१५ सयको ज्याला पाउँथे। उनले केही समयमा यो काम सिके र पुरानो साइकल किनेर आफैदूध किन्न र बेच्न थाले। आज करिब २० वर्षपछि उनीसँग आÇनै आधुनिक दूध डेरी उद्योग छ। जसमा दैनिक ७।८ हजार लिटर दूध संकलन गर्ने, प्रशोधन गर्ने गर्छन्। त्यस्तै अर्को उदाहरण काँकरभिट्टामा २० वर्ष जति पहिले भन्सारको छेउमा एउटा सानो घुम्ती पसलमा कोल्ड डि्रङ्स र पान बेच्न सुरु गरेका स्याम कार्की आज काँकरभिट्टामै जग्गा किनेर करोडौंको लगानीमा होटल बनाउँदैछन्। अर्को उदाहरण काँकरभिट्टाका श्रीप्रसाद मैनालीलाई पनि लिन सकिन्छ। २०४० साल तिर कन्काई बसमा यात्रु बुक गरेर पाएको कमिशनले परिवारको गर्जो टार्नुपर्ने अवस्थाका मानिस आज करोडौं अचल सम्पत्ति र एक दर्जन बढी रात्रि तथा दिवा बसका एकलौटी मालिक बन्न सफल भएका छन्।
यस्ता उदाहरण कति हो कति दिन सकिन्छ। यस्ता उद्यमीले आफूले मात्रै पैसा कमाएका होइनन् धेरैलाई रोजगारी दिएका छन्। राज्यलाई कर तिरेका छन्। आÇनो व्यवस्थापकीय क्षमतामा उल्लेख्य वृद्धि गरेका छन्। एउटा उद्यमी सफल भए त्यसले आफूलाई मात्रै होइन समाज र देशकै भलो गरिरहेको हुन्छ। त्यसै कारण उद्यम र उद्यमीको विकासका लागि राज्यले ध्यान दिनुपर्छ। तब मात्रै वास्तविक रूपमा देश विकास हुन्छ। राज्यले यहाँ ध्यान पुर्‍याउनुपर्ने कुरा के मात्रै हो भने कतै उद्यमीले धेरै र चाँडै नाफा कमाउने नाममा ठगी त गरिरहेको छैन ? भनेर बेलाबेलामा छड्के चेकजाँच गर्नुपर्छ। तर उद्यमीलाई निरास र हतोत्साही बनाउनुहुँदैन। रातारात धनी हुने सपना देखेर छलछाम गरेर, अरुलाई झुक्याएर वा ठगेर धनको धनी त बन्न सकिएला तर उद्यमी बन्न सकिदैन। त्यसैले धनी हुनु र उद्यमी हुनु एउटै कुरा होइन।
उद्यम भनेको ठूलठूला उद्योग र कलकारखाना मात्रै होइन। जीविको पार्जनका लागि गरिने ब्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन्। उद्यमको शुरुवात जीविको पार्जन गर्न कै लागि हुन्छ। तर जब उद्यमले आकार ग्रहण गर्दै वृद्धि हुँदै जान्छ तब त्यो जीविकोपार्जनसम्म मात्रै सीमित हुँदैन। त्यसले अरुअरु उद्यमका सम्भावनाको खोजी गर्दै जान्छ। कारोबार बढाउदै जान्छ। धेरैलाई रोजगारी दिने क्षमता राख्छ। राज्यलाई कर तिरेर धनी बनाउछ। त्यसैले साचो अर्थमा उद्यम विकासबिना देश विकास हुँदैन। नेपाल किन बनेन भन्दा यति चाहीँ भन्न सकिन्छ कि यहाँ साँचो अर्थमा उद्यम गर्ने मानिसको खाँचो छ र राज्यले उद्यमीको योगदानलाई सही अर्थमा बुझनै सकेको छैन। हाम्रो समाजको मूल चरित्र कस्तो बन्यो भने मानिस धनी हुन चाहन्छन् तर उद्यमी बन्ने प्रयास गर्दैनन्। यो नै हाम्रो पछौटे पनको कारण हो भन्ने मेरो बुझाई हो।
- रामचन्द्र उप्रेती

'क' प्रश्न भनेको के हो

चाहे त्यो आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, बौद्धिक जे सुकै कार्य किन नहोस् सुरु गर्नु अघि त्यसभित्र लुकेको 'क' प्रश्नहरुको उत्तर खोज्नु पर्दछ र ती 'क' प्रश्नका उत्तरहरु सकारात्मक वा चित्त बुझ्दो आएमा र प्रष्ट भएमा मात्र कार्य सुरु गर्नुपर्दछ। 'क' प्रश्न भनेको के हो भन्ने खुल्दुली उठ्न सक्छ। WH question भनेको भए हामी नेपालीले राम्ररी बुझ्थ्यौं होलान्। स्वभाविक हो आफ्नो नाम लेख्न नजानी औँठामा कालोदली छाप लगाउने दाजु भाइ, दिदी बहिनी पनि तनाव भनेको बुझ्नु हुन्न तर टेन्सन भने सजिलै बुझ्नुहुन्छ। सवैखाले उपनिवेशबादले च्याप्न खोजिरहेको हाम्रो देशमा भाषिक उपनिवेशबादले पनि त्यतिकै, अझ बढी सताएको छ। जे होस् 'क' प्रश्न भन्नाले के, कहाँ, कहिले, कसले, किन, कसलाई, कति, कसरी, कुन, को आदि पर्दछन्। जेसुकै कार्य किन नहोस्, प्रारम्भ गर्नु अघि यिनको उत्तर खोज्ने कोशिश गर्नु पर्दछ। सबै प्रश्नको पर्याप्त र सही अनि तथ्यगत उत्तर खोजी क्रमसंग मिलाएर राख्ने हो भने त्यस विषयको विश्लेषण प्रतिवेदन वा सम्भाव्यता अध्ययन प्रतिवेदन बन्न सक्छ। सवै क्षेत्रको सम्भाव्यता अध्ययन हुन सक्छ र गर्नु पर्दछ। त्यही नगरिएका कारण नै व्यक्तिहरु आफू लागेको क्षेत्रबाट बीचमै अल्पविराम लगाई बाटो फेर्न वाध्य हुन्छन् वा बिच बाटैमा हराउँछन्। राजनैतिक दल फेर्नु, वीचमै पढाइ छोड्नु, जागिर छाडी विदेश जानु, पूनर्विवाह वा सम्वन्ध विच्छेद गर्नु, वसाइँ सर्नु आदि सवै गलत वा अपूर्ण सम्भावयता अध्ययन का कारण हुने गर्दछन्। या त नयाँ सम्भाव्यता अधययनले नयाँ सम्भावना र भविष्य खुलाइदिएका कारण हुने गर्छन। जे होस् यी सबै 'क' प्रश्नकै आधारमा नै जोडिन्छन्, तोडिन्छन् वा मोडिन्छन्। 

हामी अरु क्षेत्रका नभई ब्यावशायिक क्षेत्रमा लाग्न चाहनेले गर्नु पर्ने सम्भाव्यता अध्ययनको बारेमा कुरा गर्दैछौँ। त्यसमा पनि पहिलो पटक एउटा सानो व्यापार ब्यवशाय सुरु गर्न चाहने व्यक्तिको दृष्टिकोणबाट, उसको भविष्यको जोखिम कम गर्ने विषयमा कुरा गर्दैछौँ। हुनत हरेक पटक नयाँ ब्यवशाय सुरु गर्नु अघि 'क' प्रश्नको आधारमा वृहत अध्ययन अनुसन्धान, तुलना, व्याख्या आदि गर्नु आवाश्यक छ। अझ, पहिलो पटक विना अनुभव नयाँ ब्यवशाय सुरु गर्न चाहानेलाई त झनै बढी जरुरत छ। यस्ता सम्भाव्यता अध्ययन प्रतिवेदन बजारमा वा इनटरनेट मार्फत किन्न पनि पाइन्छन् तर नेपाल जस्तो सानो बजारकालागि ठ्याक्कै मिल्ने खालको प्रतिवेदन भने पाइँदैनन्। प्राविधिक पक्ष मिले पनि बजार र स्थानिय तथ्याँक भिन्न हुने हुँदा जस्ताको तस्तै लागु गर्न सुझाव योग्य छैन। त्यसको विकल्पको रुपमा स्थानीय विशेषज्ञहरको सेवा लिई छुट्टै प्रतिवेदन बनाई त्यसकै आधारमा 'क' प्रश्नको उत्तर खोजी ब्यवशाय सुरु गर्ने निर्णय गर्न पनि सकिन्छ। 
हामी यहाँ त्यसरी अरुको विशेषज्ञ सेवा नलिई एउटा नवागन्तुक, सिकारु सामान्य ब्यावशायीले नयाँ ब्यवशाय कसरी सुरु गर्ने भन्ने बारेमा कुरा गर्दैछौँ। 'क' प्रश्नको आधारमा सुरु गर्नुपर्छ भन्ने बारेमा त हामीले यस अघिनै चर्चा गरिहाल्यौं। यस क्रममा धेरै 'क' प्रश्नहरुको उत्तिकै महत्वका साथ अध्ययन गर्नुपर्दछ। धेरै 'क' प्रश्नहरु मध्य 'कस्तो' र 'कसरी' भन्ने बारेमा सामान्य चर्चा गरौं। कस्तो ब्यवशाय सुरु गर्दा र त्यो ब्यवशाय कसरी संचालन गर्दा राम्रो होला वा नहोला भन्ने खुल्दुली हुन्छ नै। यस दृष्टिकोणबाट हेर्दा ब्यवशायलाई ४ प्रकारमा विभाजन गर्न सकिन्छ। ति हुन् – (क) पुरानो खाले काम पुरानै तरीकाले गर्ने (ख) पुरानोखाले काम नयाँ तरीकाले गर्ने (ग) नयाँ खालेकाम पुरानो तरीकाले गर्ने र (घ) नयाँ खालेकाम नयाँ तरीकाले गर्ने। यो सन्दर्भमा पुरानो खाले काम भन्नाले यसअघि अरुले पनि यसै सेरोफेरो, शहर, बजार, देशमा गरिआएका कामहरु मध्ये एक बुझ्नु पर्छ भने नयाँ खाले काम भन्नाले ती भन्दा भिन्न र अलि फरक काम भन्ने बुझ्नु पर्दछ। त्यसैगरी पुरानो तरीकाले काम गर्ने भन्नाले व्यवस्थापन, बजारिकरण, नामाकरण, प्रस्तुतिकरण आदि पुरानै ढाँचाको भन्ने बुझिन्छ भने नयाँ तरीका भन्नाले प्रस्तुति र प्रविधि आदिका हिसाबले नयाँ भन्ने बुझ्नु पर्दछ। 

अब यी ४ प्रकार मध्ये कुन प्रकार छान्ने र कुन प्रकारको के सवल र दुर्वल पक्ष छन् भन्ने बुझ्ने कोशिस गरौं। यी मध्ये प्रकार (क) सबैभन्दा कम जोखिम र कम भविष्य तथा न्युन नाफा दिने खालको हुन्छ। पहिल्यै त्यस्तै प्रकारका धेरै ब्यवसाय हुने हुँदा प्रतिस्पर्धा धेरै हुन्छ। तथापि यस अघि नै धेरैले गर्दै आएको र चल्ने निश्चित भएको हुँदा चल्दै नचल्ने जोखिम चाहिं हुँदैदैन। जहाँ जोखिम कम छ, त्यहाँ मुनाफा वा भविष्य पनि कम नै हुनु स्वभाविक नै हो। त्यसै गरी प्रकार (ख) सापेक्षिक रुपमा सुझावयोग्य छ। यस अन्तर्गत काम / ब्य्वसाय त पुरानै खालको गरिन्छ जुन अरुले पनि गर्दै आएका छन् तर नयाँ तरीकाले गरिन्छ। यहाँ नयाँ तरीका भन्नाले पूर्ण रुपमा उल्टो वा भिन्न तरीका भन्न खोजिएको होइन। मात्र नयाँ वा थप पद्धति र प्रविधि सहित गर्ने भनिएको हो। पुरानै काम हुनाले चल्ने पक्का नै हुन्छ। यसलाई नयाँ तरिकाले गर्दा त्यसको फाइदा पनि लिन सकिन्छ। आफ्ना प्रतिस्पर्धीहरु प्रकार (क) मा अडिएको अवस्थामा आफूले प्रकार (ख) मा जाँदा फाइदा गर्न सकिन्छ। यसमा जोखिम कम हुँदा हुँदै पनि फाइदा बढी हुन्छ। प्रकार (ग) अती नै जोखिमपूर्ण र साँच्चै भन्दा मूर्खतापूर्ण पनि छ। काम नयाँ खालको, गर्ने तरीका पुरानो कसरी चल्नु? प्रकार (घ) पनि जोखिमपूर्ण छ किनकि यो नयाँ काम हो तर नयाँ र परिष्कृत तरीकाले गरिनेहुँदा यो रोमाञ्चक र जोखिम पूर्ण छ। उद्यमशिलताको स्तर बढी भएका उद्यमीले यस प्रकारको काम गर्न रुचाउँछन्। कसले कुन काम गर्नु उपयुक्त हुन्छन् भनी किटान गर्न गाह्रो छ। 'क' प्रश्नहरु मात्रै पनि आधार होइनन्। आन्तिरिक र वाह्य धेरै कारण र तत्वहरु विचार गर्नु पर्दछ। अझ उद्यमीको आफ्नै अनुभव, शिक्षा, लगानी, इच्छा र प्रथामिकता, श्रोत आदिमा पनि भर पर्दछ। अन्य तथ्यहरुलाई यथावत राखी झट्ट भन्नु पर्दा प्रकार (ख) को काम गर्न सुझाव दिन सकिन्छ ।

Hari Kumar Silwal

सोमवार, 22 अक्टूबर 2018

रेस्टुराँमा भाँडा माझ्ने भट्ट बने सफल व्यवसायी

काठमाडौँ (रासस) । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापितभएका छन् ।
अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गर्नुभएका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छन् ।
उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए ।
जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उनी रोजगारमा संलग्न हुन थाले । महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम सुरू गरे । ती दिन सम्झना गर्दै भट्टले भने, ‘घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।’ तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिनुपर्छ भन्ने उनले योजना बनाए ।
उनले भने, ‘भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरुले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माझँे ।’ उनको सो कामबाट प्रभावित भएपछि साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पु¥याइदियो । कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो ।
यसरी ६ वर्षसम्म फरक÷फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे ।
विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बनाए ।
जापान गएको छ वर्षपछि टोकियोको बीएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो ।
सो रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किने । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरेका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए ।
यस्तै उनले नेपालमा पनि टीबीआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पयटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब लगानी गरिसकेका छन् ।
‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बीबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन् ।
विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै एक करोड पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ (एनआरएन) को ठूलो सहयोग नेपाल भित्रिएको थियो ।
नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उनकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरूले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो ।
पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडाँै, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरका थिए ।
Source: Chitwan Post

अमेरीकामा ब्यापार मेला सफल बनाउन यस्ता रणनितीहरु अबलम्बन गरिँदै

विश्वको आर्थिक राजधानी अमेरिकाको न्युयोर्कमा आगामी सेप्टेम्बरको अन्त्यमा नेपाली व्यापार मेला भब्यरुपमा सम्पन्न हुने भएको छ । मेला आयोजक वल्र्ड बिजनेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्युयोर्कमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर दुईसम्म नेपाली व्यापार मेला हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा मेलामा सहभागी बिभिन्न साझेदार संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका छन् । नेपाल अमेरीका चेम्बर अफ कमर्शका निर्देशक किरण शाखले अमेरिका पुगेर ब्यापार खोज्न चुनौती हुने कुरा ब्यक्त गर्नुभयो । दशैको नजिकै भएकाले केहीलाई इच्छा भएर पनि जान आनाकानी गरेको कुरा मणी रत्न शाक्यले बताउनु भएको छ ।
नाटाका अध्यक्ष मधु शर्माले पर्यटन ब्यबसयी उत्सुक भएको कुरा ब्यक्त गर्नुभयो। त्यसैगरि हस्तकला महासंघका निर्देशक डा। गोबिन्द प्रशाद रेग्मिले यती राम्रो कार्यक्रममा खुट्टा तान्ने प्रब्रित्ती राम्रो नभएको बताउनुभयो । वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका निर्देशक कृष्ण प्रशाद लामिछानेले प्रेस बिज्ञप्ति बाचन गर्दै पत्रकार तथा अन्य सहभागिको जिज्ञासा को जबाफ दिनु भयो। साथै पत्रकार सम्मेलनमा मेलामा सहभागी हुन जान लागेका कम्पनिका प्रतिनिधिको पनि उपस्थिती थियो । पत्रकार सम्मेलनमा मेलाको सफलताको बिषयमा अन्तरक्रिया समेत गरिएको थियो । वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्ट अमेरिकास्थित मेरिल्याण्ड राज्यमा दर्ता भई आधिकारिकता प्राप्त गरेको संस्था हो ।
नेपाल र अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपालीलाइ अवसर प्रदान गर्न मेला आयोजना गरेको आयोजकले जनाएको छ । त्यस्तै नेपाली उत्पादनका ६६ वटा बस्तुमा अमेरिकाले दिदै आएको भन्सार छुटको फाइदा नेपाली व्यवसायीहरुले उठाउन सक्ने आयोजक वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
मेलाको प्रद्र्धकहरुमा नेपाल पर्यटन बोर्ड, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नेपाली कफि व्यवसायी महासंघ, नेपाल ह्याण्डमेड पेपर एसोसियसन, नेपाल सुन चा“दी व्यवसायी महासंघ लगायत संघसंस्थाहरु रहेको लामिछानेले जानकार िदिनुभयो ।
मेलामा नेपाली समुदाय, भुटानी, इटालियन, बंगाली, पाकिस्तानी, स्पेनिस, चाइनजि, लगायत अमेरिकी व्यापारीहरुको सहभागिता रहनुका साथै मेलामा नेपाल सरकारका प्रतिनिधि, उद्योगी व्यवसायी प्रतिनिधि तथा अमेरिकी सरकारका प्रतिनिधि, उद्योगी, व्यवसायीहरुको आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने आयोजकले जनाएको छ ।
मेलामा सहभागिताका लागि छनौट भएका उद्योगी, व्यवसायीहरुलाई सेप्टेम्बर २८ सम्ममा न्युयोर्कमा पुग्ने गरी जहाजको टिकट बुकिङ गरिएको आयोजकले जानकारी गराएको छ ।
यस्तै मेलामा सहभागी हुने व्यवसायिक संस्थाले कम्तीमा दुई बर्ष उत्पादन गरेको हुनुपर्ने, स्वदेशी तथा विदेशी मेलाको अनुभव हासिल गरेको हुनुपर्ने, सरकारी कर तिरेको हुनुपर्ने आयोजकले सर्त राखेको छ ।
Source: OSnepal

सफल हुनु छ भने यसरी सुरु गर्नुहोस् ‘बिजनेश’


सबैमा आफ्नो व्यवसाय सुरु गर्ने चाहना हुन्छ । अहिलेको युवापुस्ता आफू मालिक बन्न जागरुक रहेको छ । तर, व्यवसाय सुरु गर्नु त्यत्ति सजिलो छैन । यो चुनौतीपूर्ण काम हो । तपाईसँग धन, शिक्षा र काम गरेको अनुभव छ भने पनि ती मात्रै प्रयाप्त छैनन् आफ्नै व्यवसाय सुरु गर्न । तर, डराउनु पर्ने केही छैन । योजनावद्धरुपमा अगाडि बढेमा व्यवसायमा सफलता निस्चित छ । सरल अनुसन्धान र विस्तृत योजनाले नै व्यवसायलाई अगाडि बढाउन सकिन्छ । माग, आपुर्ति र बजार प्रतिस्पर्धा जस्ता कुरालाई ध्यान दिएर साना व्यवसाय सुरु गर्नु पर्ने सल्लाह म्याजिक ८-बलले दिएको छ ।
बिजमाण्डुले यसपटक साना व्यवसाय सुरु गर्न आवश्यक तयारीका बारेमा म्याजिक ८-बलको अवधारणालाई नेपालको सन्दर्भमा ढालेर प्रस्तुत गर्ने जमर्को गरेको छ । बजार प्रतिस्पर्धाका कारण अनुसन्धान र योजना नगरी व्यवसाय गर्दा नेपालमा समेत सफल हुन नसकिने अवस्था सिर्जना भैसकेको छ । तसर्थ, व्यवसायिक योजना बनाउने आधारभुत छ चरणका बारेमा यहाँ जानकारी दिइएको छ ।

१. आधारभुत तयारी
अवधारणा बनाउनु होस: तपाई वस्तु वा सेवा जुनसुकै व्यवसाय सुरु गर्ने सोच लिन सक्नु हुन्छ । ती वस्तु वा सेवाका बारेमा मानिसलाई थाहा हुन सक्छ वा भर्खर आविस्कार भएकोले थाहा नहुन पनि सक्छ ।
तपाईको व्यवसायिक सोचले काम गर्छ वा गर्दैन, केही समय कुर्नु पर्छ कि तत्काल सुरु गर्न सकिन्छ आदि बारेमा जानकारी लिन केही विद्धान र केही साधारण मानिससँग छलफल गर्नुस । समाजको प्रतिनिधित्व गर्ने यी व्यक्तिको भनाई गम्भीरतापुर्वक सुन्नुस र अवधारणा बनाउनु होस ।
लक्ष्य निर्धारण गर्नुहोस: तपाईले व्यवसाय घरखर्च चलाउनका लागि गर्ने हो वा पूर्ण व्यवसायिक जीवनमा प्रवेश गर्न, यसमा प्रस्ट हुनुहोस । यसले भविष्यमा व्यवसायको विकास र विस्तार गर्ने क्रममा सहयोग पुग्छ, तसर्थ पहिले नै अधारभुत लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य नलिई अघि बढदा घर न घाटको हुने अवस्था रहन्छ ।
राम्रो नाम दिनुस: व्यवसाय ब्राण्ड हो । तसर्थ बजारमा सहजै स्वीकार्य हुने साथै लक्षित वर्गमा लोकप्रिय नाम दिनुहोस । ध्यान राख्नुस, ब्राण्ड नाम सधै परिवर्तन गर्ने कुरा होइन ।
समूह निर्माण गर्नुस: आजको समय एक्लै व्यवसाय गर्न उपयुक्त छैन । यसो भन्दैमा एकल व्यवसाय गर्नै हुदैन भन्ने चाँही होइन, तर एक/दुईजना साथीसँग मिलेर व्यवसाय सुरु गर्दा बढी सफल हुन सकिने सम्भावना हुन्छ । साझेदारीले सबै विभिन्न पक्षको राम्रो सोचलाई अगाडि बढाउँछ ।
छनोट गर्नुस: व्यवसायमा साझेदार होस वा कर्मचारी, तिनको छनोट निकै होस पुर्याएर गर्नुपर्छ । ध्यानमा राख्नुस, तपाईको घनिस्ट साथी पनि व्यवसायका लागि उपयुक्त नहुन सक्छ । यस्ता मानिस छनोट गर्दा तपाई कमजोर भएको क्षेत्रमा बलिया, दीर्घकालन सोच भएका, सहजै घुलमिल हुन सक्ने र व्यवसायको प्रकृति अनुकुल भएकालाई मात्र लिनुहोस ।


२. व्यवसायिक योजना लेखन
हामी कहाँ व्यवसायिक योजना लेखन, लक्ष्य निर्धारण र बजारीकरणको पक्षमा ध्यान नदिने चलन छ । तर, व्यवसाय सानो होस वा ठूलो आजको प्रतिस्पर्धात्मक युगमा बजारका विभिन्न तत्वको विश्लेषण नगरी व्यवसाय सफल हुन सक्दैन । व्यवसाय फलदायी छ वा छैन थाहा पाउन कै लागि पनि व्यवसायिक योजना आवश्यक छ ।
व्यवसायिक योजना कसरी लेख्ने भन्ने पुस्तक, टुलकिटहरु अनलाइन, पुस्तकालय र बजारमा पाइन्छन् । तिनको अध्ययनबाट योजना तयार गर्न सकिन्छ । व्यवसायिक योजनामा निम्न कुरा समावेस गर्नुपर्छ ।
सारांस: व्यवसाय गर्ने क्रममा बेलाबेलामा लगानी, बजारीकरण र लक्ष्य जस्ता कुरा हेर्नुपर्ने हुन्छ । सम्पुर्ण योजना पढन सकिदैन । त्यसबेला सारांसमा समेटिएका मुख्य बुदाँले अगाडि बढन वा निर्णय गर्न मद्दत गर्छ ।
विस्तृत व्यवसायिक कार्यहरु
बजारीकरण रणनीति
प्रतिस्पर्धा विश्लेषण
व्यवसाय विकासको लक्ष्य र रणनीति
सञ्चालन निर्देशिका  
लगानी र वित्तिय व्यवस्थापन

३. व्यवसाय दर्ता तथा कानुनी प्रक्रिया
व्यवसाय दर्ताः कुनै पनि व्यवसाय सरकारको निस्चित निकायमा दर्ता गर्नु आवश्यक हुन्छ । साना व्यवसाय दर्ता गर्ने निकायको रुपमा गाउ, नगर/महानगर, वाणिज्य विभाग र कार्यालय छन् । कुन व्यवसाय कहाँ दर्ता गर्ने भन्ने निस्चित गर्न सकिएन भने वकिलको सहायता लिन सक्नुहुन्छ । थोरै शुल्कमा नै यस्तो सेवा पाउन सकिन्छ ।
लेखापाल: व्यवसायको लेखा दुरुसत राख्नु पर्छ । विभिन्न प्रकारका कर र दैनिक खरिदबिक्री, नाफा घाटाको विवरण दुरुस्त राख्न लेखापाल नियुक्त गर्नु पर्छ । साना व्यवसायीको लेखा राख्न पार्टटाइम लेखापाल पनि उपलव्ध हुन सक्छन् ।

४. वित्तीय व्यवस्थापन
प्रारम्भिक लगानी: व्यवसायिक योजना बनाएपछि त्यसका लागि लगानीको स्रोत जुटाउने ठूलो चुनौती हो । यस्तो स्रोत तपाईले जम्मा गरेको पुँजी, बैंक वा अन्य वित्तीय लगानी गर्ने संस्थाबाट आउन सक्छ । नेपालको सन्दर्भमा आयोजनामा आधारित लगानीको सम्भावना निकै कम छ । तर, युवा तथा साना व्यवसायी स्वरोजगार जस्ता कोषबाट सहयोग लिन सकिन्छ ।

जगेडा पुँजी: तपाईले व्यवसायमा पाँच लाख लगानी गर्ने सोच्नु भएको छ भने त्यसको करिव १० प्रतिशत जगेडा पुँजीको रुपमा राख्नुस् । भैपरि आउने अवस्थामा यस्तो रकम आवश्यक पर्छ ।

थोरै खर्च: व्यवसायमा गर्ने लगानी आधारभुतरुपमा व्यवसायमै लगानी गर्नुस् । अफिसमा कम खर्च गर्नुस् ।

नयाँ व्यवसायः व्यवसायबाट भएको आम्दानीले नयाँ व्यवसाय थप्नुस् । यदि तपाईको योजना घरखर्चमात्र चलाउने हो भने परिवारको शिक्षा र स्वास्थ्यमा बढी ध्यान दिनुस् ।

प्रतिस्पर्धामा सजग रहनुस: व्यवसायमा हरेक क्षण प्रतिस्पर्धा चलिरहेको हुन्छ । प्रतिस्पर्धा को सँग, कहाँ र कसरी गर्नु पर्छ भन्ने बारेमा जानकारी राख्नुस र रणनीतिक हिसाबले चल्नुस । तपाईले बजारका अदृष्य शक्ति बारेमा पनि जानकारी राख्नु उपयुक्त हुन्छ । यिनको चलखेललाई पन्छाउन सकिएन व्यवसाय डुब्न सक्छ ।

५. बजारीकरण  
व्यवसायको महत्वपूर्ण पाटो बजारीकरण हो । यसबाट नै ग्राहक सिर्जना हुन्छन् र व्यवसाय चल्छ । एक्काइसौं शताव्दीमा बजारीकरणका कैयन माध्यम छन् । बजारीकरणका लागि व्यवसायको प्रकृति, ग्राहक र खर्च गर्न सक्ने क्षमता अनुसार योजना बनाउनु पर्छ ।

वेवसाइट: तपाईको व्यवसाय ग्रोसरी, रेस्टुराँ आदि हो भने वेवसाइट निर्माण गर्नुस । प्रविधीको प्रयोग गर्ने बढी रहेको अहिलेको अवस्थामा मानिसहरु वेवसाइटबाट बुझेर समान किन्ने र खान जाने गर्न थालिसकेका छन् । सामाजिक सञ्जालबाट पनि व्यवसाय प्रवर्दन गर्ने भरपुर प्रयोग गर्नुस, अन्य मिडिया नपुगेको ठाउँमा पनि सोसियल मिडिया पुगेका हुन्छन् ।

साजसज्जा: अहिले व्यवसायिक स्थलको साजसज्जाले पनि मानिसलाई आर्कषित गर्छ, तसर्थ साधारण पसल भएपनि त्यसलाई नयाँ लुक दिनोस । यसका लागि व्यवसायिक डिजाइनरहरु बजारमा पाइन्छन् ।

हसिलो सेवाः व्यवसायको सफलता तपाईले दिने सेवामा भर पर्छ । सेवाको स्तरीकरण गर्ने र हासेर सेवा दिने गर्नुस । त्यस्तै कर्मचारी राख्नुस । यसबाट व्यवसायको प्रगति निस्चित छ ।

बजारीकरण र बितरण: व्यवसायमा बजारीकरण र वितरणले महत्व राख्छ । राम्रो बजारीकरण भएपनि चुस्त बितरण नभएमा व्यवसाय फस्टाउन सक्दैन, त्यसैले समय समयमा बजारको माग र प्रवृति हेरेर बजारीकरण र वितरण व्यवस्थामा परिवर्तन गर्नुपर्छ ।

६. व्यवसाय लञ्चिङ
व्यवसाय लञ्चिङ व्यवसाय प्रर्वदन गर्ने अवशर पनि हो, तसर्थ व्यवसाय सम्भावित ग्राहकलाई लञ्चिङमा बोलाउनु होस । व्यवसाय भएको क्षेत्र वा व्यवसायले समेटने क्षेत्रका मिडियालाई यस्तो कार्यक्रममा नछुटाउनु होस ।
व्यवसायमा समयसमयमा जोडिने सेवा र वस्तुका बारेमा जानकारी दिन पोस्टर वा नोट सबैले देख्ने ठाउमा राख्ने गर्नुस । स्थानीय सञ्चार माध्यमका पत्रकारलाई आमन्त्रण गरेर यी कुराको जानकारी दिदाँ पनि धेरैभन्दा धेरै ग्राहकसम्म पुग्न सकिन्छ ।

Source : Bizmandu

जापानमा भाँडा माझेर फर्किएका नकुल यसरी बने काठमाडौँमा सफल रेस्टुरेन्ट व्यवसायी

  • विज्ञान अधिकारी -
​१९ वर्षको उमेरमा बागलुङ बुर्तिवाङका नकुल शेरचन जापान हान्निए। बागलुङबाट एसएलसी र काठमाडौंमा आइकम पढेपछि नकुल टुरिष्ट भिसामा जापान गए ।

 
उनी झण्डै १४ वर्ष जापानमा टुरिष्ट भए, तर घुमेर, हेरेर र मनोरञ्जन गरेर होइन, भाँडा माझेर, वेटर बनेर, कुक भएर। १४ वर्षमध्ये पछिल्लो तीन वर्ष उनी कुकबाट अपग्रेड भएर टुरिष्ट साहुजी बने।
 
१२ वर्षमा खोला फर्कन्छ तर नकुलका लागि १४ वर्ष लाग्यो। जापान बसाइलाई टुङ्ग्याउँदै उनी पाँच वर्ष अघि नेपाल फर्किए। त्यसपछि सुरु भयो उनको काठमाडौंमा रेष्टुरेण्ट यात्रा।
 
काठमाडौंमा उनका दाजुहरुको पार्टनरसिपमा रेष्टुरेण्ट थियो, मिक्किज। सुरुमा उनले त्यसका लागि काम गरे, तर त्यो राम्रोसँग चल्न सकेन। त्यसपछि उनी आफ्नै रेष्टुरेण्ट खोल्ने ध्याउन्नमा लागे।
 

काठमाडौंका नयाँ, पुराना चलेका सबै रेष्टुरेण्टमा पुगे। खाना चाखे। लोकेसन हेरे। र रेष्टुरेण्टको 'एम्बियन्स' (माहौल) कस्तो छ त्यसको अध्ययन गरे। उनको अध्ययनले भन्यो, काठमाडौंमा फ्यामिली रेष्टुरेण्ट चाहिन्छ। त्यसपछि सुरु भयो एलिसको यात्रा।

 
काठमाडौं गैरीधारामा एलिस खोलेको यही वैशाखमा चार वर्ष पूरा हुँदैछ। तर छोरी एलिसका नाममा राखिएको रेष्टुरेण्टबाट नकुलले सोचेभन्दा बढी सफलता पाए। नेपाली रेष्टुरेण्ट व्यवसायमा एलिसलाई उनले एउटा सफल ब्राण्ड बनाए। जुन ब्राण्ड अहिले गैरीधाराबाट विस्तार भएर दरवारमार्गमा आइसकेको छ।
 

जापानी थकालीको संयोजन

१९ वर्षको उमेरमा जापान पुगेका नकुल काठमाडौंमा दुई वर्ष मात्रै बसेका थिए। त्यसैले उनलाई काठमाडौंको फुड कल्चरको जानकारी त थिएन, उनलाई यहाँको भुगोल पनि जानकारी थिएन।

 
मलाई काम के हो थाहा थियो, खाना के बनाउनु पर्छ थाहा थियो, खाना आउनेलाई वातावरण कस्तो दिनुपर्छ त्यो थाहा थियो, नकुलले भने। मलाई मात्रै होइन मसँग नौ वर्ष जापान बसेकी मेरी श्रीमतीलाई पनि यो विषयमा धेरै थाहा थियो, उनले भने।
 

गैरीधारा जहाँ एलिस खोलिएको छ। त्यहाँ एलिसभन्दा पहिले पनि धेरै रेष्टुरेण्ट खोलिएको थियो। तर चलेका थिएनन् । उनले एलिसको इन्टेरियर जापानी शैलीमा बनाए। फ्यामिली रेष्टुरेण्ट बनाउन 'किड जोन' तयार गरे।

 
थकाली खानासँगै जापानी र कन्टिनेन्टल खानाको मेनु भएको एलिस हेर्दाहेर्दै उच्च मध्यम वर्गको गन्तव्य बन्यो। अहिले गैरीधाराको एलिसमा ४४ जनाले रोजगार पाएका छन्। मासिक ‌औसत ७० लाख रुपैयाँभन्दा बढीको कारोवार हुन्छ।
 

दरवारमार्गमा फरक टार्गेट

नकुलले दरवारमार्गमा खोलेको एलिसमा एक पटकमा सय जनाको सिटिङ क्यापासिटी छ। उनले त्यसका लागि झण्डै दुई करोड रुपैयाँ खर्च गरेका छन्। थोरै पैसामा पनि रेष्टुरेण्ट तयार गर्न सकिन्छ। तर त्यो कति चल्छ? भन्न सकिंदैन।

 
मैले रेष्टुरेण्ट क्षेत्रमा पछिल्लो चार वर्षमा बुझेको कुरा हो, रेष्टुरेण्टको एम्बिएन्स। त्यही एम्बिएन्सका लागि ठूलो खर्च भएको छ उनले भने। त्यसमाथि दरवारमार्गको एलिस नाकावन्दीको मारमा पनि पर्यो।
 
निर्माण सामाग्री लामो समय होल्ड भयो। नाकावन्दीका कारण एलिस निर्माणकै लागि आठ महिनाभन्दा बढी समय लाग्यो। महँगोमा किनेको डिजेलबाट जेनेरेटर चलाएर निर्माण गर्दा खर्चले आकाश छोयो, उनले भने। नाकावन्दीका कारण कम्तिमा पनि खर्च ३० प्रतिशत बढेको उनको अनुमान छ।

 
उनले गैरीधारा र दरवारमार्गको एलिसको टार्गेट कस्टमर फरक हुने बताए। त्यहाँ मध्यम उच्च वर्गका नियमित ग्राहक छन्, तर यहाँका ग्राहक भने क्याजुअल हुनेछन्, नकुलले भने।
 

टिन एज, प्रोफेसनल र दरवारमार्गमा आइपुगेका घुमन्ते तथा छेउछाउमा रहेका होटलमा बस्ने पर्यटक दरवारमार्गका टार्गेटेड कस्टमर हुन्, उनले भने। यहाँ अहिले ३२ जनाभन्दा बढीले रोजगारी पाएका छन् । खुलेको केही दिनमै एलिसले राम्रो प्रतिक्रिया दिएको छ, उनले भने।
 
दरवारमार्ग र गैरीधारामा उही मेनु र उही मूल्य रहने उनले बताए। तपाईंले छान्न जान्ने हो भने हाम्रो मेनु त्यति महँगो होइन्, नकुलले भने, चार जनाको परिवारले तीन हजार रुपैयाँमा लञ्च गर्न सक्छ।
 

नयाँ प्रस्तावको ओइरो

अहिले केही समय नकुल दरवारमार्गको एलिसलाई स्थापित गर्न व्यस्त रहनेछन्। त्यसपछि भने एलिसकै ब्राण्डलाई विस्तार गर्ने सोंच उनको छ। अहिले पनि मलाई एलिस विस्तार गर्न लगानीका लागि दैनिक प्रस्ताव आउँछ। तर म ती प्रस्तावमा तयार छैन्, उनले भने।
 
​तर केही समयपछि भने यही ब्राण्डलाई अलि विस्तार गर्नेछु, उनले भने। मैले अहिले नै साझेदारी वा फ्रन्चाइजमा जाने सोचेको छैन।
 
यसरी नै एउटा दुई वटा विस्तार गर्नका लागि स्रोतको समस्या हुँदैन, त्यसैले म एग्रेसिभ पनि हुन्न, उनले भने। उनी दरवारमार्गपछि ललितपुर वा भक्तपुरमा एलिसलाई विस्तार गर्न चाहिरेका छन् । तर सबै तय भैसकेको छैन ।

जसले नेपाललाई उत्प्रेरित गरे

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुकमा लोकतन्त्र स्थापित भएको छ। तर, लोकतन्त्र प्राप्तिको एक दसकमा नेपाली समाज त्यति सजिलै अघि बढ्न पाएको छैन। अहिलेसम्म पनि नेपाली जनताले लोकतन्त्रको अनुभूति गर्न सकेका छैनन्।
मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा लम्किने प्रयासमा छ। तर, जति प्रयासहरू भइरहेका छन्, ती अपर्याप्त छन्। परिवर्तित अवस्थामा लोकतन्त्रको संस्थागत विकास गर्दै अघि बढ्नुपर्ने दायित्व छ। संविधान कार्यान्वयन गर्दै अघि बढ्ने र वि.सं. २०७४ सालको माघ महिनाभित्र तीन वटै तहको निर्वाचन गर्न संविधानले दिएको सीमाको पालना गर्नुपर्ने जिम्मेवारी पनि अर्कोतर्फ छँदैछ। त्यसैले अब चाहिँ केही आशा गर्न सक्ने वातावरण बन्दै गएको प्रष्ट हुन्छ।स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ। मुलुकमा आर्थिक विकासका सम्भावनाहरूलाई केलाउँदै अघि बढ्नपर्ने छ। स्थानीय तहको चुनावले नयाँ जनप्रतिनिधि छान्ने छ। जनता सरकारी कामकाजका लागि पाउने झण्झटबाट मुक्त हुने छन्। र, मुलुक नयाँ चरणमा प्रवेश गर्नेछ। नेपाली राजनीतिले लामो समयसम्म संक्रमणकालीन कालखण्ड भोगे पनि त्यसबीचमा धेरै काम भएका छन्, ती कार्यको लेखाजोखा नेपाली जनताले एक–एकगरी गरिरहेका छन्। यसबीचमा सम्भावनाका केही गोरेटा खनिएको थियो, केही नवीनतम् कार्य भएकै थिए। जनतालाई राहत दिनका लागि राजनीतिक दलहरूले पनि अठोट गरेकै थिए।
हो, त्यसको लेखाजोखा सञ्चार क्षेत्रले पनि गरिरहेको छ। शुभदिन मिडियाले पनि नेपाली राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक क्षेत्रको नेतृत्वले यो अवधिमा लेखेको परीक्षाको रिजल्ट ‘नेपाल इन्स्पाइरर’मार्फत दिएको छ। सम्पादक मण्डल र विज्ञको सुझावमा शुभदिनले उत्कृष्ट तीस जनालाई ‘नेपाल इस्पाइरर’को सम्मान दिएको हो। पूर्ण स्वतन्त्रताका आधारमा विश्वमा नाम कमाएका नेपालीको कर्मकथा वैशाख १ गतेदेखि निरन्तर १० दिनसम्म प्रकाशित गरेर नेपाली जनतामा उत्साह र उल्लास भर्ने हाम्रो कोसिसलाई पाठकका रुपमा सबैले मन पराइदिनुभयो। यसका लागि शुभदिन टिम अनुग्रहित छ। र, किन छानिए ३० जना नेपाल इस्पाइरर त्यसको प्रष्टोक्ति पनि हामी दिन चाहन्छौं। अर्को वर्ष अझ सशक्त प्रस्तुतिसाथ नेपाल इस्पाइररको शृंखला लिएर आउने बाचा पनि गर्दछाैं।
POWER & POLITICS
गगन थापा : युवाका अाशा (Youth)
गगन थापा नेपाली राजनीतिमा प्रखर, निडर र लोकप्रिय नेता हुन्। उनी जहाँ जान्छन्, जे गर्छन्, त्यसले राष्ट्रिय चर्चा पाउँछ। विकृति, विसंगति, भ्रष्टाचार, अन्यायको विपक्षमा उनी आफ्नो मत खुलेर राख्छन्। दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद थापा अहिले स्वास्थ्य मन्त्री छन्। उनले स्वास्थ्य मन्त्रालय टेकेपछि देशभरि विद्यमान स्वास्थ्य क्षेत्रको बेथितिमा सुधार आएको छ। उनले नयाँ–नयाँ नीति नियम, ऐन कार्यान्वयनमा ल्याएर जनतालाई घरदैलोमै स्वास्थ्य सेवा दिएपछि उनको लोकप्रियता झन् बढिरहेको छ।
जनार्दन शर्मा : जसले ऊर्जाको मोर्चा पनि जिते (Male)
तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका सहायक कमाण्डर जनार्दन शर्मा प्रभाकरले हरेक युद्ध मोर्चा जितेका थिए। त्यो संकटकालको घडी थियो। अशिक्षा, बेरोजगारी र ग्रामीण ऋणग्रस्तता झेलेका शर्मा त्यसै जनयुद्धमा लडेका थिएनन्, उनमाथि जनताको अधिकार स्थापित गर्नुपर्ने दायित्व थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि शर्माले आफ्नो अठोटलाई वास्तविकतामा परिणत गर्ने अवसर पाए। र, ‘नेपालको पानी, जनताको लगानी’ अभियानमार्फत उर्जामन्त्री शर्माले मुलुकमा उज्यालो छरे। १८ देखि २० घण्टासम्म विद्युत् नआएर आजित नागरिकका लागि योभन्दा ठुलो कोसेली के नै हुन्थ्यो र! त्यसैले मन्त्री शर्माको ‘नेपाल इस्पाइरर’ सम्मान नेपाली नागरिकको सम्मानका रुपमा हामी लिएका छौं। जनमतको सम्मानका रुपमा लिएका छौं।
सीतादेवी यादव : संघर्षशील इतिहास (Female)
द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीबाटै पति चन्द्रनारायणको क्रुरतापूर्वक हत्या गरियो। पतिको हत्याको शोकलाई शक्तिमा बदलिन्, सीतादेवी यादवले। कुनै बेलाका ‘जनयुद्धका कमान्डर’ पुष्पकमल दाहालकै नेतृत्वमा अहिले शान्ति तथा पुनःनिर्माण मन्त्री भएकी छन्। महिला, त्यसमा पनि मधेसी महिलाको यो असाधारण सफलता अरुका लागि निक्कै प्रेरणादायी छ। कांग्रेस केन्द्रीय कोषाध्यक्ष समेत रहेकी यादवको काँधमा अहिले पतिको अधुरो र अपुरो सपना पूरा गर्ने दायित्व त छ नै त्यो भन्दाबढी हिजो द्वन्द्वबाट प्रभावित उनीजस्ता हजारौं सर्वसाधारणको दुःखमा मल्हम लगाउनु पनि छ।
LIFESTYLE, TRENDS & GADGETS
विजय लामा : आशाको ज्योति (Male)
पढेलेखेका युवा सबै पलायन भइरहेका छन्। कोही खाडीमा छन्, प्राविधिक ज्ञान सिकेकाहरु त अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानजस्ता मुलुकमै केन्द्रित छन्। तर, पञ्चायतकालदेखि कुरीतिले झेलेको नेपाली समाजमा आशाको ज्योति छर्न अमेरिकामा आफ्नो पढाई सकेपछि नेपाल फर्किए, विजय लामा। मुलुकभित्र सम्भावना खोज्न, जड भएको बसेको दुषित व्यवस्थासँग लड्दै अघि बढेका लामा अहिले नेपाल वायुसेवा निगमका उपनिर्देशक छन्, र सिनियर क्याप्टेन पनि। नयाँ दिल्लीदेखि दुबईसम्म सिंगापुरदेखि हङकङ र बैंककसम्म नेपाली ध्वजावाहक विमान पुग्दा संसारभरका मानिस पाइलट विजय लामालाई सम्झिन्छन्। मुलुकभित्रै सम्भावना खोज्न प्रेरित गर्ने अभियन्ता हुन् लामा। नेपाल वायुसेवा निगमको सुधारका लागि लामाले गरेको प्रयासका लागि नै शुभदिनले नेपाल इस्पाइररको सम्मान प्रदान गरेको हो।
शैलजा अधिकारी : जसले फेसन फुलाइन् (Female)
शैलजा अधिकारीले नेपालमा फेसन स्थापित गराउन ठूलै क्रान्ति गरेकी छिन्। फेसन शिक्षा लिने कसैले पनि बेरोजगार बस्नु पर्दैन भन्ने कुरा उनले स्थापित गराएकी छिन्। उनीकहाँ पढ्ने विद्यार्थी कसैले बुटिक खोलेर जिन्दगी चलाइरहेका छन्, कसैले तालिम केन्द्र खोलेर नयाँ जनशक्ति उत्पादन गरिरहेका छन्। फेसनमै आधारित रहेर नेपालमा पाठ्यक्रम भित्र्याएकी हुनाले उनी यो क्षेत्रकी हस्ती हुन्।
राजभाइ सुवाल: तस्बिर तिमीलाई (Youth)
हरेक मानिसका बेग्लाबेग्लै सौख हुन्छन्। त्यसको पछाडि कुनै न कुनै मीठो कथा जोडिएकै हुन्छ। नेपालका व्यावसायिक फोटोग्राफरका रुपमा दरिने राजभाइ सुवाललाई पनि दाजुले घर भित्र्याएको एउटा भिडियो क्यामेराका कारण आज बेग्लै परिचय मिलेको छ। कलिलो उमेरमा घरमा कुनै नयाँ जिनिस भित्रियो। कौतुहलता स्वभाविक थियो। त्यो चलाउँदा चलाउँदै फोटोग्राफीमा होमिएका राजभाइ वर्तमान समयका देशकै सवैभन्दा व्यस्त फोटोग्राफर हुन्। फोटोग्राफीले उनलाई दाम र माम त दियो नै, त्योभन्दा बढी नाम दिएको छ। फोटो पत्रकारका रुपमा पनि उनको ख्याती छ। आखिर आफ्नो होस् वा पराईको फोटो सबैलाई मनपर्छ। त्यही सम्मोहको व्यापारले राजभाइ चम्किएका हुन्।
MUSIC, ARTS & ENTERTAINMENT
गौरी मल्ल : निरन्तरताकी प्रतीक (Female)
काठमाडौं, नक्सालमा जन्मिएकी गौरी मल्ल नेपाल चलचित्र जगतमा निरन्तरताकी प्रतीक हुन्। आफ्नो जीवनकालमा अहिलेसम्म ७० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी मल्लले ननिभाएको कुनै भूमिकै छैन्। नेपाली चलचित्र बामे सर्दै गरेको अवस्थामा उनले प्रबेश गरेकी थिइन, यो ‘चकाचौध’ क्षेत्रमा। अहिलेसम्म पनि अबिराम र अविश्रान्त रुपमै खटिएकै छिन्। हरेक भूमिकामा न्याय गर्न सक्ने उनीजस्तो बहुमुखी प्रतिभा अर्को छैन भन्दा अत्युक्ति नहोला।
निश्चल बस्नेत : जसले फरक गरे (Male)
परम्परागत ढर्रामै निर्माण भइरहेका थिए, नेपाली चलचित्र। यस्तोमा एकाएक निश्चल बस्नेतको प्रवेश भयो। उनले चलचित्र निर्माण मात्रै गरेनन्, आफ्नो जीवन्त अभिनयमार्फत दर्शकलाई फरक ‘टेस्ट’ पनि दिए। कथा मौलिक भए अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चलचित्र बिक्री हुन्छ भनेर प्रमाणित समेत गरिदिए। त्यसपछि नै हो, नेपाली चलचित्र जगत एकाएक ‘भाइब्रेट’ भएको। त्यसैले उनी सम्मानको हकदार छन्।
यमबुद्ध : संगीतमा नयाँ अायाम (Youth)
एक समय नेपाली र्याप संगीतमा वर्चस्व कायम गरेका यमबुद्धले २९ वर्षको कलिलै उमेरमा मृत्युवरण गरे पनि उनका गीतहरु अझ पनि उत्तिकै गुञ्जिन्छन्। कामप्रति इमान्दार, लगनशील र कामलाई महत्व दिने यमबुद्धको जीवनी सबैका लागि प्रेरणादायी छ।
BUSINESS, ECONOMY & MANAGEMENT
कुलमान घिसिङ : नेपालको उज्यालो (Male)
सहरमा कुलमान घिसिङको हाइहाई छ। नहो्स पनि कसरी? सदियौं देखि लोडसेडिङको अँध्यारोमा बस्न बाध्य सर्वसाधारणलाई उनले उज्यालो उपहार दिए। नयाँ–नयाँ योजना बनाउन र त्यसलाई कार्यान्वयन तहमै लग्न सक्ने विशेष खुवीकै कारण उनको लोकप्रियता शिखरमा छ अहिले। देशले घिसिङबाट धेरै अपेक्षा राखेको छ। दिनरात नभनेर काममा खटिने उनको कार्यशैली अरु राष्ट्रसेवक कर्मचारीले पछ्याउन सके सर्वसाधारणमा देखिएको निरासाको बादल हट्न समय नलाग्ला?
भवन भट्ट : ‘अारिगातो गोजाइमास’ (Youth)
केही दिनअघि शुभदिनले ‘नेपाल इन्सपाइरर’का लागि संवाद गर्न खोज्दा व्यवसायी भवन भट्ट, जापानको टोकियोस्थित आफ्नो प्रतिष्ठानमा मातहत कर्मचारीलाई काममा अह्राइरहेका थिए। अधिकांशका लागि अपत्यारिलो र अविश्वसनीय लाग्ने काम भवनले गरिरहेका छन्। गोरखाजस्तो साँघुरो परिवेशबाट माथि उठेर जापान लगायतका विदेशी मुलुकमा व्यापार–व्यवसायमा जमेका उनी त्यस्ता बिरलै नेपाली युवा हुन्, जसले विदेशमा पनि सफलताको झण्डा गाढेका छन्। व्यवसायसँगै नेपाल चिनाउने अभियानमा समेत जुटिरहेका भवनको सफल निर्देशकीय भूमिका आर्थिक खबरको संगालो ‘कारोबार’ मा प्रष्टै देखिएको छ। खासगरी उनीबाट नेपाली युवाले धेरै कुरा सिक्न सक्छन्।
भवानी राणा : जुझारू महिला उद्यमी (Female)
नेपालगन्जको साँघुरो वृत्तबाट राष्ट्रिय परिदृश्यमा छाएकी हुन्, भवानी राणा। उद्योग व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघको अघिल्लो साता राजधानीमा सम्पन्न महाधिवेसनमा उनी अध्यक्ष निर्वाचित भइन्। योसँगै एउटा इतिहास बन्यो। महासंघको ५० वर्षे लामो यात्रामा पहिलोपटक नेतृत्वको जिम्मा महिलाको काँधमा आयो। ठूलो संघर्ष र मेहनतको परिणाम थियो, यो। उनले इतिहास त बनाइन नै नेतृत्व क्षमताको परख गर्न बाँकी नै छ।
HEALTH, EDUCATION & INFRASTRUCTURE
डा. सन्दुक रुइत : दृष्टिविहीनका दृष्टि (Male)
आँखा उपचार सेवा नेपाली चिकित्सा क्षेत्रमा ‘माइलस्टोन’कै रुपमा स्थापित भएको छ। त्यसको श्रेयको एउटा हकदार हुन्, डा. सन्दुक रुइत। अन्य रोगको उपचार गर्न नेपाली बिरामी लाखौं खर्चेर विदेशी अस्पताल धाउँछन्। तर, आँखा उपचारका लागि नेपालतर्फ सोझिने विदेशी पनि धेरै छन्। तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रुइतले नेत्र उपचारमा विश्वप्रसिद्ध प्रणालीको विकास गरेर लाखौंलाई मोतियाबिन्दुको समस्याबाट मुक्त गराइसकेका छन्। उनले विकास गरेको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ अहिले विश्वका धेरै मुलुकले अपनाउन थालेका छन्। त्यसैले यस्ता डाक्टरलाई सलाम नगरी धरै छैन।
अंगुरबाबा जोशी : श्रद्धाकी पात्र (Female)
१० वर्षकै उमेरमा बिहे भएको थियो, अंगुरबाबा जोशीको। उनले कहिल्यै विद्यालयमा पाइला टेकिनन्। घरमै पढेर हाइस्कुलको पढाइ पूरा गरिन्। पतिसँगै एसएलसी पास गरेकी अंगुरबाबाले देश–विदेशका विभिन्न कलेजबाट उच्च शिक्षा प्राप्त गरिन्। २०१९ मा पदमकन्या क्याम्पसको प्रमुख भइन्। लामो समयसम्म त्यसको नेतृत्व गरिन्। शिक्षा क्षेत्रमा अनेकौं नयाँ नीति निर्माण गर्दा उनको सुझाव सल्लाह अनिवार्यजस्तै मानिन्छ। जीवनको उत्तरार्धमा पनि उनको यात्रा रोकिएको छैन। बिरामी अवस्थामा पनि लेखनलाई निरन्तरता दिएकी छन्। हजारौं विद्यार्थीकी यी गुरुआमाको अविछिन्न संघर्ष धेरैका लागि प्रेरणा बनेको छ।
रबिन्द्र पुरी : वास्तुकला ‘रिभिजिटेड’ (Youth)
पुरानो वास्तुकलामा संरक्षण अभियानमा लागिरहेका नेपाली समाजमा ढुंगा, माटो, इँटा, काठबाट बनेका घर पनि सुरक्षित हुन्छन् भनी ती चिजबाट घर निर्माण गरिरहेका छन्। ढुंगा, माटो, इँटा र काठद्वारा निर्मित घर पनि भूकम्पप्रतिरोधी हुन्छन् भनी उनी प्रमाणित गर्न खोजिरहेका छन्। नेपालमा ८०/९० को दसकमा पुराना घरहरूको नरसंहार सुरू भएको सहन नसकेर यो अभियानमा हिँडेका उनले ठाउँ ठाउँमा बस्ती निर्माण गरिरहेका छन् र नयाँ जनशक्ति उत्पादनमा जोड दिइरहेका छन्। उनले आफ्नो आधा कमाइ अभियानमा खर्चेका छन्। पुरानो वास्तुकला लोप भइरहेको समाजमा उनले थालेको यो अभियानले धेरैलाई पुरानो वास्तुकला के हो र यसले कसरी घर निर्माण गर्न सकिन्छ भनी समाजमा प्रेरणा दिएको छ।
COUNTRY, COMMUNITY & CONSUMERS
ओमप्रकाश अर्याल : न्याय थला पर्न दिएनन् (Youth)
अनेकौं झेल्दै पनि निरन्तर लगातार चार वर्ष संघर्ष गरेर अन्त्यमा नेपाली न्यायपालिकाको इतिहासमा सबैभन्दा ठूलो मुद्या जित्न सफल भएका अधिवक्ता ओमप्रकाश अर्याल न्यायक्षेत्रकै नमूना हुन्। सत्य कर्मको बाटो जतिसुकै घुमाउरो, अप्ठारो भए पनि निरन्तर डटेर लाग्ने हो भने सफलता प्राप्त गर्न सकिने मिसाल उनले कायम गरेका छन्।
मेनुका थापा : चेलिबेटीकी रक्षा कवच (Female)
काभ्रेमा जन्मिएकी मेनुका थापा रक्षा नेपालकी अध्यक्ष हुन्। बाल्यकालदेखि नै अन्याय र अभावबीच उनको जीवन गुज्रियो। मेनुकाको जीवन संघर्ष धेरैका लागि प्रेरणाको स्रोत हो। महिला तथा बालबालिका बेचविखनविरूद्धको क्षेत्रमा काम गर्छ, रक्षा नेपालले। उनी सयौं असहाय, अपहेलित महिलाकी रक्षाकवच बनेकी छन्। दोहोरीमा गाउँदै गर्दा उनले क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिलालाई देखिन्। अनि उनको बाटो परिवर्तन भयो। पीडित महिलालाई उद्धार गर्ने संस्थामा अहिले ४० जना किशोरी र १० जना महिला छन्। यी मनकारी महिलालाई नमन्।
ज्योति बानियाँ : अधिकारका उत्प्रेरणा (Male)
उपभोक्ता अधिकारको बारेमा आम उपभोक्ता नै अनभिज्ञ छन्। केही वर्षअघिसम्म ‘क्रेता र बिक्रेता’कै सम्बन्धमा सीमित थियो, नेपाली समाज। हामी उपभोग्य सामान प्रयोग त गथ्र्यौं। तर, उपभोक्ता, हित, संरक्षण र अधिकारलाई गौण ठान्थ्यौं। यस्तै, परिस्थितिबीच ज्योति बानियाँको पर्दापर्ण भयो। उनी उपभोक्ता अधिकारका बारेमा वकालत गर्न थाले। पेशाले कानुन व्यवसायी बानियाँकै कारण सरकार उपभोक्ता ऐन ल्याउन बाध्य भयो। सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दा राष्ट्रिय रुपमै स्थापित भयो।
VIEWS & OPINIONS
रामेश्वर खनाल : सुशासनका लागि खबरदारी (Male)
रामेश्वर खनाल भिन्न स्वभावका छन्। जहाँ जान्छन्, थिति बसाल्न खोजिहाल्छन्। विकृत मानसिकता उनको सत्रु हो। जहाँ सुधारको आवश्यकता देख्छन्, हात हालिहाल्छन्। रोकावट वा दबाब आउन थाल्यो भने उनी त्यहाँ बस्दैनन्। अर्थसचिव हुँदा उनले मन्त्रीसँग विमति राख्दै राजीनामा दिए। बाबुराम भट्टराईको पार्टीमा केही समय सक्रिय भए, तर छोडे। विकृति विसंगतिविरूद्धको उनको लडाइँले धेरैलाई असल मान्छे बन्न प्रेरणा दिन्छ।
शारदा भुसाल : भ्रष्टाचारसँग पाैंठेजोरी (Female)
नेपाली साझा मञ्चकी अन्तर्राष्ट्रिय अभियन्ता शारदाले निरन्तर भ्रष्टाचारविरोधी अभियान चलाइरहेकी छन्। पहिलोपटक २०६८ भदौ २५ गतेदेखि असोज ६ गतेसम्म आमरण अनसन बसिन्। दोस्रोपटक ९ दिन। र, तेस्रोपटक ‘न्याय मर्यो’ भनेर केशमुन्डन गरी अशौच बारेर १३ दिन बसिन्। यो शृंखला लामै छ। विद्रोही स्वभावकी शारदाले २०६८ मंसिर १६ गतेदेखि सूचनाको हक प्रयोग गरेर १ हजार ७ सय ८४ वटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरिसकेकी छन्। इमान हराउँदै गएको देशमा इमानदारिता, पारदर्शीता र जवाफदेहिताका लागि लडिरहेकी शारदा अथक यात्री हुन्।
चन्द्रकिशोर : शब्द सेतु (Youth)
पत्रकार÷लेखक तथा मधेस मामिला विज्ञका रुपमा चिनिन्छन्, चन्द्रकिशोर। लामो समयदेखि वीरगन्जलाई ‘स्टेशन’ बनाएर पहाड–मधेस चहारिरहेका चन्द्रकिशोर वर्षौंदेखिको नेपाली एकता, सद्भाव र सहकार्य पछिल्ला दिनमा खलबलिँदै गएकोमा चिन्तित छन्, त्यसैले आफ्नो लेखनी र बहसमार्फत उनी समाज जोड्ने कुरा गर्छन्। ‘डेटलाइन तराई’ कोलमबाट नियमित रुपमा पाठकहरूलाई आफ्नो खरो विचार प्रवाह गरिरहेका चन्द्रकिशोर मधेसले पहाड र पहाडले मधेस नबुझ्दा समस्या आइरहेको र एकलकाँटे सोच र विचार त्यागेर खुला सोचका साथ सहकार्य गरेमा वर्तमान समस्या समाधान हुनेमा विश्वस्त छन् ।
IDEA, SCIENCE, LIFE, UNIVERSE & CRAZY
प्रा.डा. जीवन श्रेष्ठ : खोजका लागि सलाम (Female)
माछाको विषयमा नयाँ खोज गरेकी प्रा.डा जीवन श्रेष्ठ पर्दाभित्रकी हिरो हुन्। नेपालमा कुन खोलानालामा कुन प्रजातिका माछा पाइन्छ? माछा कति संख्यामा छ? तराई, पहाड र हिमालमा किन फरक प्रजातिका माछा पाइएको होला? साधारणता यस्ता प्रश्न बहसमा आउँदैनन्। तर, जीवविज्ञानका लागि यी प्रश्नहरु धेरै महत्वपूर्ण हुन्छन्। वातावरणसँग जोडिएको यो विषयमा नेपालमै पहिलो पटक रहस्य खोतलेकी थिइन, श्रेष्ठले। माछाकै खोज, अध्ययन र अनुसन्धान गरी विद्यावारिधी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा ४५ वर्षसम्म प्राध्यापन गरिन्। उनको अध्ययन, शैक्षिक सेवा, सामाजिक सेवादेखि राजनीतिक अभियानका विविध पाटा रोचक छन्।
सौविद्य मनोज : खाँटी नेपाली (Male)
उच्च शिक्षा हासिल गरेका अधिकांश नेपाली युवा उज्जवल भविष्यको खोजीमा अमेरिका लगायतका सम्पन्न मुलुक भासिन्छन्। फेरि फर्केर स्वदेशमै आफ्नो दक्षता र मेहनत लगाउँदैनन्। तर, अपवाद नै भनौं। केही यस्ता युवा पनि छन्, जसले अमेरिकामा आर्जन गरेको ज्ञान र सिपलाई नेपाल फर्किएर व्यवहारमा उतारेका छन्। तिनैमध्येका एक हुन्, सौविद्य मनोज। अहिले पनि उनलाई लाखौं तलबसहितको आकर्षक जागिरको अफर आउँछ। तर, उनी सामाजिक क्षेत्रमै रमाइरहेका छन्। विर्ल्ड नेपाल अाइडियामार्फत उनले स्थानीय विकासका लागि विदेशी सहयोग होइन, सामाजिक सहकार्य र समाजमुखी व्यवसायले नै नेपालको समग्र विकास हुन सक्ने अवधारणा बनाएरै काम गरिरहेका छन्।
अर्पण शर्मा : स्मरणमा महारथ (Youth)
सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो। गिनिज वल्र्ड रेकर्डसले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन्।’ हो, त्यतिञ्जेलसम्म उनका बारेमा सबै बेखबर थिए। गिनिज बुक अफ वर्ल्ड रेकर्डसले अर्पणको नाम विश्वकै तेज रहेको घोषणा गरेपछि उनी मात्रै होइन, संसारभरि रहेका नेपाली नै खुसी भए। झापा, भद्रपुर ८ निवासी शर्माले अहिले ६० वटा वस्तु सजिलै स्मरण गर्न सक्ने क्षमता विकास गरिसकेका छन्। अरुलाई स्मरण शक्तिका बारेमा कक्षा दिन उनलाई अहिले भ्याइनभ्याइ छ।
WORD-SHABDA
नयनराज पाण्डे : साहित्यिक क्षेत्रका आलोक (Youth)
नेपालगन्जको विविधितायुक्त समाजमा हुर्किएका साहित्यकार नयनराज पाण्डेले ‘उलार’ बिम्बमार्फत एउटा सशक्त उपन्यास लेखे। वर्तमान राजनीतिक पात्र र प्रवृत्तिका बारेमा लेखिएको त्यो उपन्यासमा नेपालगन्जीया टेष्ट पनि थियो। ‘लू’ ले सिमाक्षेत्रका पीडालाई राष्ट्रियकरण नै गरिदियो। ‘उलार’को अंग्रेजी संस्करण आउन लागेको छ। अर्को उत्कृष्ट उपन्यास ‘लू’मा नाटक निर्माण गरियो। सीमा अतिक्रमण जस्तो संबेदनशील विषय पनि उपन्यासमार्फत बाहिर ल्याउन सफल नयनराज पाण्डे नेपाली साहित्यमा आफ्नो बेग्लै छबि र छाप छोड्न सफल भएका छन्।
सीमा आभास : शब्द क्रान्ति (Female)
कवि सीमा आभाष नेपाली समाजको चरित्र उदांगो पार्ने साहित्यकार हुन्। उनको लेखन क्रान्तिकारी मानिन्छ। उनी शब्दमार्फत समाजका विकृति विसंगति उजागर गर्छिन्। ‘म स्त्री अर्थात् आइमाई’ नामक पुस्तक प्रकाशित भएपछि उनलाई ‘फेमिनिस्ट’ आरोप लागेको छ। उनको रचनामा महिला उत्थानको आवाज आयो भनेर साहित्यिक क्षेत्रबाटै प्रहार भयो। समाजमा घटिरहेका सत्य घटनालाई साहित्यमा उतार्दा म कसरी फेमिनिस्ट भएँ? भनी उनी प्रश्न गरिरहेकी छिन्।
रामलाल जोशी : आफैंमा एक कथा (Male)
रामलाल जोशीलाई केही महिनाअघिसम्म कमैले चिन्थे। पत्याउँथेनन्। सुदूरपश्चिमको साघुँरो साहित्यिक परिवेशमै रमाइरहेका थिए, उनी। निक्कै दुःख र धपेडीमाझ कथासंग्रह प्रकाशित गरे, ‘ऐना’। चक र डस्टर चलाएर कमाएको (शिक्षण) रकमले दुःखजिलो गरेर पुस्तक निकाले। जब यो पुस्तक बजारमा पुग्यो, ‘घाघडान’ समालोचक पनि स्तब्ध भए। कथामा सुदूरपश्चिमको आंचलिकताको स्वाद त थियो नै, त्योभन्दा बढी यस्ता मौलिक र अहिलेसम्म कसैले नलेखेका अर्ग्यानिक प्लटले धेरैको मन छोयो। नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कार थापेपछि दूरदेश मानिने सुदूरका यी श्यामवर्णका रामलाल रातारात सेलिब्रिटी भए। उनको कथासंग्रह पुनःप्रकाशित गर्नका लागि एक से एक प्रकाशन गृहको लाम लाग्यो। प्रतिभा, हिम्मत र लगाव भएमा जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि त्यो एकदिन बाहिर निस्कन्छ भन्ने उदाहरणका साक्षी पनि हुन्, रामलाल। डोटीमा जन्मेर धनगढीलाई कर्म क्षेत्र बनाएर हिँडिरहेका रामलाललाई नेपाली साहित्यले नयाँ र प्रतिभावान श्रष्टाका रुपमा पाएको छ, अझै धेरै गर्नुपर्ने दबाबमा रहेका उनीबाट नेपाली साहित्यका पाठकले त्यो आँश गर्नु स्वभाविक पनि हो।
SPORTS
पारस खड्का : कुशल कप्तान 
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का नेपाली क्रिकेटका हालसम्मकै सफल कप्तानमा पर्छन्। नेपाली क्रिकेटलाई विश्वकपको मञ्चसम्म पुर्याएका पारस कुशल नेतृत्वकर्ता, प्रतिभाशाली खेलाडी तथा प्रेरणादायी व्यक्तिको रुपमा चिनिन्छन्।
मीरा राई : साहसले सफल 
माओवादी छापामार हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत च्याम्पियन बनेकी मीरा राई नेशनल जिओग्राफीको विश्वकै साहसिक व्यक्तीको अवार्ड हात पार्न सफल भइन्। सामान्य परिवारकी मीराको सफलताको संघर्ष युवा पिढीहरुको लागि प्रेरणादायी छ।
हरि रोकाया : हिँडाइ जारी छ
तीनपटक विश्व प्रशिद्ध एभरेष्ट म्याराथन जित्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका हरि रोकाया उमेरले पाँच दशक नाघिसक्दा पनि उत्तिकै सक्रिय छन्। कर्णाली क्षेत्रमा म्याराथनको विकासका लागि स्थानियस्तरमै कर्णाली स्पोर्टस क्लब सञ्चालन गरिरहेका रोकायले थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेका छन्।