सोमवार, 22 अक्टूबर 2018

जापानमा भाँडा माझेर फर्किएका नकुल यसरी बने काठमाडौँमा सफल रेस्टुरेन्ट व्यवसायी

  • विज्ञान अधिकारी -
​१९ वर्षको उमेरमा बागलुङ बुर्तिवाङका नकुल शेरचन जापान हान्निए। बागलुङबाट एसएलसी र काठमाडौंमा आइकम पढेपछि नकुल टुरिष्ट भिसामा जापान गए ।

 
उनी झण्डै १४ वर्ष जापानमा टुरिष्ट भए, तर घुमेर, हेरेर र मनोरञ्जन गरेर होइन, भाँडा माझेर, वेटर बनेर, कुक भएर। १४ वर्षमध्ये पछिल्लो तीन वर्ष उनी कुकबाट अपग्रेड भएर टुरिष्ट साहुजी बने।
 
१२ वर्षमा खोला फर्कन्छ तर नकुलका लागि १४ वर्ष लाग्यो। जापान बसाइलाई टुङ्ग्याउँदै उनी पाँच वर्ष अघि नेपाल फर्किए। त्यसपछि सुरु भयो उनको काठमाडौंमा रेष्टुरेण्ट यात्रा।
 
काठमाडौंमा उनका दाजुहरुको पार्टनरसिपमा रेष्टुरेण्ट थियो, मिक्किज। सुरुमा उनले त्यसका लागि काम गरे, तर त्यो राम्रोसँग चल्न सकेन। त्यसपछि उनी आफ्नै रेष्टुरेण्ट खोल्ने ध्याउन्नमा लागे।
 

काठमाडौंका नयाँ, पुराना चलेका सबै रेष्टुरेण्टमा पुगे। खाना चाखे। लोकेसन हेरे। र रेष्टुरेण्टको 'एम्बियन्स' (माहौल) कस्तो छ त्यसको अध्ययन गरे। उनको अध्ययनले भन्यो, काठमाडौंमा फ्यामिली रेष्टुरेण्ट चाहिन्छ। त्यसपछि सुरु भयो एलिसको यात्रा।

 
काठमाडौं गैरीधारामा एलिस खोलेको यही वैशाखमा चार वर्ष पूरा हुँदैछ। तर छोरी एलिसका नाममा राखिएको रेष्टुरेण्टबाट नकुलले सोचेभन्दा बढी सफलता पाए। नेपाली रेष्टुरेण्ट व्यवसायमा एलिसलाई उनले एउटा सफल ब्राण्ड बनाए। जुन ब्राण्ड अहिले गैरीधाराबाट विस्तार भएर दरवारमार्गमा आइसकेको छ।
 

जापानी थकालीको संयोजन

१९ वर्षको उमेरमा जापान पुगेका नकुल काठमाडौंमा दुई वर्ष मात्रै बसेका थिए। त्यसैले उनलाई काठमाडौंको फुड कल्चरको जानकारी त थिएन, उनलाई यहाँको भुगोल पनि जानकारी थिएन।

 
मलाई काम के हो थाहा थियो, खाना के बनाउनु पर्छ थाहा थियो, खाना आउनेलाई वातावरण कस्तो दिनुपर्छ त्यो थाहा थियो, नकुलले भने। मलाई मात्रै होइन मसँग नौ वर्ष जापान बसेकी मेरी श्रीमतीलाई पनि यो विषयमा धेरै थाहा थियो, उनले भने।
 

गैरीधारा जहाँ एलिस खोलिएको छ। त्यहाँ एलिसभन्दा पहिले पनि धेरै रेष्टुरेण्ट खोलिएको थियो। तर चलेका थिएनन् । उनले एलिसको इन्टेरियर जापानी शैलीमा बनाए। फ्यामिली रेष्टुरेण्ट बनाउन 'किड जोन' तयार गरे।

 
थकाली खानासँगै जापानी र कन्टिनेन्टल खानाको मेनु भएको एलिस हेर्दाहेर्दै उच्च मध्यम वर्गको गन्तव्य बन्यो। अहिले गैरीधाराको एलिसमा ४४ जनाले रोजगार पाएका छन्। मासिक ‌औसत ७० लाख रुपैयाँभन्दा बढीको कारोवार हुन्छ।
 

दरवारमार्गमा फरक टार्गेट

नकुलले दरवारमार्गमा खोलेको एलिसमा एक पटकमा सय जनाको सिटिङ क्यापासिटी छ। उनले त्यसका लागि झण्डै दुई करोड रुपैयाँ खर्च गरेका छन्। थोरै पैसामा पनि रेष्टुरेण्ट तयार गर्न सकिन्छ। तर त्यो कति चल्छ? भन्न सकिंदैन।

 
मैले रेष्टुरेण्ट क्षेत्रमा पछिल्लो चार वर्षमा बुझेको कुरा हो, रेष्टुरेण्टको एम्बिएन्स। त्यही एम्बिएन्सका लागि ठूलो खर्च भएको छ उनले भने। त्यसमाथि दरवारमार्गको एलिस नाकावन्दीको मारमा पनि पर्यो।
 
निर्माण सामाग्री लामो समय होल्ड भयो। नाकावन्दीका कारण एलिस निर्माणकै लागि आठ महिनाभन्दा बढी समय लाग्यो। महँगोमा किनेको डिजेलबाट जेनेरेटर चलाएर निर्माण गर्दा खर्चले आकाश छोयो, उनले भने। नाकावन्दीका कारण कम्तिमा पनि खर्च ३० प्रतिशत बढेको उनको अनुमान छ।

 
उनले गैरीधारा र दरवारमार्गको एलिसको टार्गेट कस्टमर फरक हुने बताए। त्यहाँ मध्यम उच्च वर्गका नियमित ग्राहक छन्, तर यहाँका ग्राहक भने क्याजुअल हुनेछन्, नकुलले भने।
 

टिन एज, प्रोफेसनल र दरवारमार्गमा आइपुगेका घुमन्ते तथा छेउछाउमा रहेका होटलमा बस्ने पर्यटक दरवारमार्गका टार्गेटेड कस्टमर हुन्, उनले भने। यहाँ अहिले ३२ जनाभन्दा बढीले रोजगारी पाएका छन् । खुलेको केही दिनमै एलिसले राम्रो प्रतिक्रिया दिएको छ, उनले भने।
 
दरवारमार्ग र गैरीधारामा उही मेनु र उही मूल्य रहने उनले बताए। तपाईंले छान्न जान्ने हो भने हाम्रो मेनु त्यति महँगो होइन्, नकुलले भने, चार जनाको परिवारले तीन हजार रुपैयाँमा लञ्च गर्न सक्छ।
 

नयाँ प्रस्तावको ओइरो

अहिले केही समय नकुल दरवारमार्गको एलिसलाई स्थापित गर्न व्यस्त रहनेछन्। त्यसपछि भने एलिसकै ब्राण्डलाई विस्तार गर्ने सोंच उनको छ। अहिले पनि मलाई एलिस विस्तार गर्न लगानीका लागि दैनिक प्रस्ताव आउँछ। तर म ती प्रस्तावमा तयार छैन्, उनले भने।
 
​तर केही समयपछि भने यही ब्राण्डलाई अलि विस्तार गर्नेछु, उनले भने। मैले अहिले नै साझेदारी वा फ्रन्चाइजमा जाने सोचेको छैन।
 
यसरी नै एउटा दुई वटा विस्तार गर्नका लागि स्रोतको समस्या हुँदैन, त्यसैले म एग्रेसिभ पनि हुन्न, उनले भने। उनी दरवारमार्गपछि ललितपुर वा भक्तपुरमा एलिसलाई विस्तार गर्न चाहिरेका छन् । तर सबै तय भैसकेको छैन ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें