शनिवार, 13 अक्टूबर 2018

आर्थिक विकासका लागि उद्यमशीलता

कृषि, वित्तीय क्षेत्र, पर्यटन, वैदेशिक रोजगारी, वाणिज्य आदि आर्थिक विकासका मुख्य क्षेत्रहरू हुन् । सफल उद्यमी बन्नु राष्ट्रका लागि गौरव मान्नुपर्नेमा नीतिगत कारणले हेपिनुले लगानी प्रवद्र्धनमा बाधा सिर्जना गर्छ, जो आर्थिक वृद्धिदर कमीको मुख्य कारण मान्न सकिन्छ । उद्यमशीलतासँग जनजनको रोजीरोटीका साथै भविष्य जोडिएको हुनाले पनि यसको विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्छ ।
 रुद्रप्रसाद भट्टराई
कहावत नै छ, गरिबलाई माछा खानभन्दा पनि माछा मार्न सिकाउनुपर्छ । अर्थात् अभावमा डुबेको मानिसलाई मीठो र स्वादिलो माछा, मासु र गेडागुडीजस्ता चिजहरू खान दिनुभन्दा पनि माछा मार्न, मासु खान मिल्ने जनावरहरूको व्यावसायिक पशुपालनको विकास र गेडागुडीको आधुनिक खेती गर्न प्रेरित गर्नु जरुरी हुन्छ, अनि मात्र कुनै पनि व्यक्तिमा उद्यम र उद्यमशीलताको पाना पल्टिन सक्छ ।
बोलीवचनमा रोजगारीको कुरा उठ्नेबित्तिकै उद्यमी बन्नुपर्ने कुरामा कसैको दुईमत नरहे पनि अनेक अवरोध कुनै न कुनै रूपमा सबैमाझ अझै विद्यमान छन् । स्रोतसाधनसँगै व्यावसायिक सुरक्षाको अभावका कारण उद्यमी बढे पनि आशातीत सफलता प्राप्त हुन नसक्दा व्यक्तिहरू पलायन हुँदै गएका छन् । केही प्रतिशत मानिस कछुवाको गतिमा आफ्नो पाइला अगाडि बढाइरहेका छन् त कोही ‘पर्ख र हेर’ को नीतिमा देखिन्छन् ।
रोजगारी सिर्जना गर्ने कुरामा एउटै उद्योगको भूमिका हजारौँका लागि काफी हुन्छ भनेजस्तै रोजगारीका अवसरमा वृद्धि गर्ने महŒवपूर्ण क्षेत्र उद्योग नै हो । कृषि, वित्तीय क्षेत्र, पर्यटन, वैदेशिक रोजगारी, वाणिज्य आदि आर्थिक विकासका मुख्य क्षेत्रहरू हुन् । सफल उद्यमी बन्नु राष्ट्रका लागि गौरव मान्नुपर्नेमा नीतिगत कारणले हेपिनुले लगानी प्रवद्र्धनमा बाधा सिर्जना गर्छ, जो आर्थिक वृद्धिदर कमीको मुख्य कारण मान्न सकिन्छ । उद्यमशीलतासँग जनजनको रोजीरोटीका साथै भविष्य जोडिएको हुनाले पनि यसको विकासका लागि सबै पक्ष गम्भीर हुनुपर्छ ।
सर्वप्रथम उद्यमशीलताको अवधारणा सन् १७०० बाट सुरु भएको देखिन्छ । साधारणतया उद्यमीहरूले गर्ने कार्यलाई उद्यमशीलता भनिन्छ । उद्यमशीलताले मानिसलाई उद्यमी बनाउँछ भने उद्यमी र उसको क्रियाकलापलाई उद्यमशीलता भनिन्छ । एच. एच. कोलले आर्थिक वस्तु तथा सेवाहरू उत्पादन वा वितरण गरेर नाफा आर्जन गर्न, कायम गर्न वा वृद्धि गर्न गरिने एक व्यक्ति वा सम्बद्ध व्यक्तिहरूको समूहको उद्देश्यमूलक क्रियाकलापलाई उद्यमशीलता मान्दछन् भने जेन काओ र होवार्ड स्टेभेन्सनले व्यावसायिक अवसर जानेर, अवसरलाई उपयुक्त जोखिम वहन व्यवस्थापन गरेर र आयोजनालाई फलदायी बनाउन आवश्यक मानवीय, वित्तीय तथा मौलिक साधनस्रोतहरू परिचालन गर्न सम्प्रेषण तथा व्यवस्थापन सीपहरूद्वारा मूल्य सिर्जना गर्ने प्रयत्न हो भनी बताएका छन् । जसरी परिभाषित गरिए पनि कुनै व्यवसायको सुरुवात, विकास र विस्तारबाट प्राप्त गरिने अपेक्षित परिणामसँग आबद्ध प्रयास, लागत र समर्पणका सम्पूर्ण कार्यको व्यवहार नै उद्यमशीलता हो । यस शब्दसँग नाफा, जोखिम र निरन्तरताजस्ता तŒवहरूको प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाबाट समावेशिता हुन्छ ।
सिर्जनशीलता, प्रतियोगितात्मक चेतना, कडा परिश्रम गर्ने, जोखिम वहन गर्न सक्ने क्षमता, कार्यको सुरुवात र अन्त्य गर्ने क्षमता, अवसरहरूको उपयोग, लक्ष्य निर्धारण र तिनको प्राथमिकीकरण, समय सापेक्ष, सबल र दुर्बल चिनारी, आत्मविश्वास, पारदर्शी, खुकुलोपना, राम्रो संगठनकर्ता, आशावादी, राम्रो विश्लेषक, कर्तव्यनिष्ठ तथा उत्तरदायी, भविष्यमुखी, प्रतिक्रिया लिन सक्ने, प्रतिबद्ध, सहन सक्ने क्षमता आदि उद्यमशीलताका गुण मानिन्छन् । यी गुणहरूलाई अवलम्बन गर्न नसक्ने हो भने व्यावसायिक जोखिमता बाक्लै देखिन्छन् । संस्था डुब्छ, लिलाम हुन्छ, हजारौँको रोजगारी गुम्छ अनि बेहालको अवस्था सिर्जना हुन्छ । यसकारण व्यासायिकतालाई अनुशासनमा परिणत गर्दै सफलता प्राप्त गर्नु नै असल उद्यमीको कार्यभित्र राख्न सकिन्छ ।
उद्यमशीलताका ४ प्रकार हुन्छन् । पहिलो— एक्लो उद्यमशीलता, जसले अरूले के भन्छ त्यसको वस्ता नगरी आफ्नो लक्ष्यअनुुसार कार्य गरिरहन्छ । यसको अर्थ, अरूलाई सझेदारीमा नराखी एक्लो प्रयासबाट कार्य गर्ने शैली नै एक्लो उद्यमशीलता हो । दोस्रो— साझेदारी उद्यमशीलता, जसले समूहिक सहभागिताबाट गरिने सम्पूर्ण उद्यमशील कार्यलाई जनाउँछ । अझ सरल भाषामा भन्नुपर्दा साझेदारी उद्यमशीलताले दुई वा सोभन्दा बढी व्यक्ति मिलेर सहकारिता माध्यमबाट गरिएको व्यापार व्यवसाय नै साझेदारी उद्यमशीलता हो ।
यसरी नै तेस्रो— कम्पनी उद्यमशीलता, जुन एक्लो वा समूह दुवैको हुनसक्छ । तर, निजी नामले सरकारी नियम कानुनमा राजी भई दर्ता गरिएका हुन्छन् । यस्ता व्यवसायको मुख्य उद्देश्य भनेको बढीभन्दा बढी वस्तु तथा सेवाको पूर्ति गर्दै नाफा आर्जन गर्नु हुन्छ । अन्तिम, चौथो— सामुदायिक उद्यमशीलता, जसले सामूहिक रूपमा लोककल्याणकारी तथा सामाजिक कार्य गर्ने उद्देश्य बोकेको हुन्छ । यस्ता व्यवसायहरूमा स्थानीय संघसंस्था र स्थानीय जनताको सहभागिताबाट निर्मित हुन्छन् । यसले नाफालाई भन्दा पनि सामाजिक विकासका पक्षहरूलाई महŒव दिएको हुन्छ । यसले शिक्षा, स्वास्थ्य, भौतिक विकास, संस्थागत विकास, गरिबी आदिजस्ता पक्षमा बढी ध्यान पु¥याउँछ ।
उद्यमशीलतालाई विभिन्न तरिकाबाट व्याख्या गरिए पनि आर्थिक विकासमा यसकोे भूमिकालाई नकार्न सकिँदैन । यसैको सहयोगबाट ग्रामीण जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने हुनाले पनि यसको महŒवले अझ बढी स्थान पाएको छ । सुम्पिटरले उद्यमीहरू आर्थिक विकासका द्योतक हुन् किनकि उनीहरूले नवप्रवर्तनलाई सुरुवात गर्ने भूमिका खेलेको कुरालाई स्वीकार गर्छन् भनेका छन् । त्यसरी नै पर्सन र मेल्सर उद्यमशीलता आर्थिक विकासको दुई अवश्यकता परिस्थितिमध्ये एक हो र अर्को पुँजी उपजको वृद्धि भन्ने कुरामा दृढ छन् । यसकारण आर्थिक विकाससँग जोडिएका विविध पक्ष पूरा गर्न उद्यमशीलताको जरुरत बढ्दै गएको छ ।
उपसंहारमा समग्र सैद्धान्तिक र व्यावहारिक गतिविधिहरूबाट के स्पष्ट पार्न सकिन्छ भने उद्यमशीलता आर्थिक विकासको औजार हो जसको सहयोगबाट नै देशको विकास सम्भव भएको हुन्छ । सहयोगी संयन्त्र भएकाले यो कार्यमा राज्यले पनि प्राथमिकतामा राख्नु जरुरी छ । उद्यमशीलताको माध्ययमबाट मात्रै उद्योग व्यवसायमा वृद्धि भई पुँजीको निर्माण, रोजगारीको सिर्जना, बेकम्मा वा बेकार रहेका पुँजीहरूको व्यवस्थित परिचालन, ग्रामीण स्थानीय स्रोत–साधनहरूको परिचालन, स्थानीय कच्चापदार्थ, सीप, ज्ञान तथा प्रविधिको प्रयोग, सामाजिक, भौतिक तथा राजनीतिक विकास, सन्तुलित विकास, भविष्यको व्यवसाय र विकास, एकीकृत विकास सम्भव रहेको भन्दा फरक नपर्ला ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें