मंगलवार, 25 दिसंबर 2018

व्यवसाय सुरु गर्दा समानको मूल्य कसरी तोक्ने ?

बजारमा भएको कुनै पनि वस्तु वा सेवा लिनको लागि हामी सबैले केही मूल्य तिर्ने गर्छौ । बजारमा बेच्नको लागि राखिएका हरेक वस्तुको आफ्नै मूल्य हुन्छ  किनभने मूल्यको कारणले गर्दा नै वस्तुको महत्त्व बढ्छ । त्यसैले कुनै पनि व्यापारीले वस्तुको मूल्य तोक्दा धेरै ध्यान पुर्‍याउनु पर्ने हुन्छ । व्यवसायीहरुले वस्तुको मूल्य तोक्दा देशको  आर्थिक स्थिति, उपोभोक्ताको खर्च गर्ने क्षमता आदिको आधारमा निर्धारण गर्नु  पर्ने हुन्छ । वस्तुको मूल्य तोक्ने उदेश्यहरू थुप्रै हुन्छन् जस्तै नाफा आर्जन गर्नु, बजारमा आफ्नो वस्तुको व्यापार बढाउनु, प्रतिस्पर्धा सामना गर्नु वा हटाउनु, आदि ।
वस्तु वा सेवाको मूल्य कसरी तोक्ने भन्नेबारे यस लेखमा जानकारी दिएको छ । मुख्यत वस्तु वा सेवाको मूल्य निर्धारण गर्ने तिन वटा तरिकाहरू छन् जुन निम्न दिएको छ:
  • लागत मूलक मूल्य निर्धारण गर्ने ( Cost-oriented Pricing)
यस विधि अनुसार, वस्तुको मूल्य निर्धारण गर्दा त्यस्मा लागेको खर्च वा लगानीको जम्मा जोडफलको आधारमा नाफा समेत जोडेर मूल्य तोक्नु पर्छ । यो विधि प्रयोग गर्नुको मूल उद्देश्य भनेको उत्पादक कम्पनीहरूले गरेको लगानी उठाउनु मात्र हो । त्यसैले यस विधिलाई सबै भन्दा सजिलो मानिन्छ । जस्तै, निम्न उदाहरणमा वस्तुको मूल्य कसरी निकाल्ने भन्ने बारे बुझाईएको छ -
मानौं,
उत्पादित वस्तुको सङ्ख्या (No. of production) = १,०००
प्रत्यक्ष खर्च (Direct Expenses) = रु १०,०००
स्थिर खर्च (Fixed Expenses) = रु ५,०००
जम्मा लागत (Total Cost) = प्रत्यक्ष खर्च + स्थिर खर्च
                      = १०,००० + ५,००० = १५,०००
प्रति यकाई लागत (Cost per unit) = रु १५,००० / १,००० = रु १५
नाफा ( Profit per unit) = रु ५ प्रति वस्तु
वस्तु को मूल्य (Sales Price) = प्रति यकाई लागत + नाफा प्रति वस्तु
                         = रु १५ + रु ५ = रु २०
तसर्थ, यस उदाहरण अनुसार एउटा वस्तुको मूल्य रु २० राखिनु पर्दछ । तपाईहरुले पनि यसरी नै आफ्नो उत्पादित वस्तुको मूल्य निकाल्न सक्नु हुन्छ । वस्तुमा के कस्ता प्रत्यक्ष खर्च लागे जस्तै कच्चापदार्थ किन्दा कति खर्च लग्यो, कामदारलाई ज्याला, इतिआदि र स्थिर खर्च जस्तै बिजुली खर्च, घर भाडा, कर्मचारीको तलब, आदि सबैको मुल्यांकन गरेर जम्मा लागत निकाल्नु पर्छ र आफुलाई कति नाफा लिने त्यसको विचार गर्नु पर्छ  ।
  • माग मूलक मूल्य निर्धारण गर्ने (Demand-oriented Pricing)
यस विधि अनुसार, बजारमा वस्तुको मूल्य त्यसको माग र आपूर्तिद्वारा तय गरिन्छ । एदी कुनै वस्तुको माग बजारमा बढ्दै छ भने त्यति बेला त्यो वस्तुको मूल्य थोरै बढाएर नाफा कमाउन सकिन्छ । त्यसैले यो विधि प्रयोग गर्न व्यवसायीहरु उपभोक्ताको माग कस्तो छ भन्ने बारे बुझ्न बजारमा अनुसन्धान कार्य गर्न आवश्यक छ । वस्तुको मूल्य त्यसको लाभ र गुणस्तरका आधारमा निर्धारण गर्नु पर्ने हुन्छ । उपभोक्तालाई उच्च गुणस्तरको सामान सस्तो मूल्यमा दिने हो भने उनीहरू त्यस उत्पादक कम्पनी प्रति बफादार हुन्छन् ।  कम्पनीले वस्तुको मूल्य निर्धारण गर्दा, वस्तुले उपभोक्तालाई जति बढी लाभ प्रदान गर्न सक्यो त्यतिनै वस्तु प्रतिको आकर्षण वृद्धि हुन्छ र कम्पनीले धेरै नाफा सिर्जना गर्न सक्छ ।
त्यसै गरी कम्पनीले ध्यान दिनु पर्ने अर्को कुरा भनेको उपभोक्ता आयस्तर र वस्तु खरिद प्रति देखाउने चासो कुन ठाउँमा के कस्तो छ भनेर बुझ्न जरुरी छ किनभने उपभोक्ताको आयस्तर ठाउँ अनुसार फरक रहन सक्छ र उनीहरूको वस्तु खरिद प्रति देखाउने चासो पनि ठाउँ अनुसार भिन्न हुन सक्छ ।   
  • प्रतिस्पर्धा मूलक मूल्य निर्धारण गर्ने (Competition-oriented Pricing)
यस धारणा अनुसार वस्तुको मूल्य बजारमा उक्त वस्तुको प्रतिस्पर्धाको मात्रा हेरेर निर्धारण गरिन्छ । धेरै जसो कम्पनीहरूले आफ्नो वस्तुको एकाधिकार कसरी कायम गर्ने भन्ने कुरामा बढी ध्यान दिएको हुन्छ । बजारमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा वस्तुको गुणस्तरमा ब्रिधि गरेर मूल्यमा केही कम गरी वस्तुलाई  बजारमा पठाउँदा त्यस कम्पनीको वस्तुले प्रतिस्पर्धा गर्न सक्छ र केही हदसम्म भए पनि बजारमा एकाधिकार कायम गर्न सक्छ । तर हेरेक समयमा यही तरिका नमिल्न सक्छ । नयाँ व्यवसायीले आफ्नो वस्तुको मूल्य बजारमै भएको कुनै प्रतिस्पर्धी कम्पनीको वस्तुको प्रचलित दर मूल्य छ भने सोही अनुसार पनि निर्धारण गर्न सक्छन् । त्यसै गरी आफूले उत्पादन गरेको वस्तु अरू कम्पनीले उत्पादन गरेको वस्तुहरू भन्दा केही फरक छ र राम्रो गुणस्तरको छ भने त्यस्तो वस्तुको मूल्य प्रतिस्पर्धी वस्तुहरूको भन्दा अलि बढी राखेर मूल्य निर्धारण गर्न पनि सकिन्छ ।
यी त भए वस्तुको मुल्य निर्धारण गर्ने केही तरिकाहरु । यदी तपाईं पनि आफुले उत्पादन गरेको वस्तुको मूल्य कति राख्ने भन्ने बारे सोची रहनु भएको छ भने आफ्नो व्यवसाय अनुसार माथि दिएका तरिकाहरु अपनाउन सक्नु हुन्छ  ।

तपाई म्यानेजमेन्ट स्टुडेन्ट हुनुहुन्छ ? हेर्नुस् पैसाको म्यानेजमेन्ट गर्ने १० टिप्सहरु

बैंकिङ खबर / तपाई म्यानेजमेन्ट विद्यार्थी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईलाई अनिवार्य केही कुरा चाहिन्छ । सामान्य रुपमा अर्थतन्त्रको व्यबस्थापन अर्थात पैसाको सुरक्षा र बचतका लागि महत्वपूर्ण मानिने केही टिप्सहरु यहाँ उल्लेख गरिएको छ ।  खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै–कुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।
आय स्रोत
आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गर्नुपर्छ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्नुपर्छ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।
बचत
वित्तीय साक्षरताको मुख्य प्रयोजन बचत हो । नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल व्यक्ति हो । विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्नुपर्छ । बैङ्क खाता खोलेर बचत राख्नुपर्छ । साथै, लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नुअगाडि विस्तृत छलफल गरेर निर्णय लिनुपर्छ । अवकाशपछिको समय तथा बच्चाको शिक्षा र अन्य खर्चका लागि पनि बचत गर्नुपर्छ ।
कारोबारको लेखा
कमाउनु जत्तिकै जोगाउनु तथा सुरक्षा गर्नु पनि महत्वपूर्ण छ । कमाइ भएर पनि सम्पत्ति सुरक्षा गर्न नसक्दा मानिसहरू गरीब भएका छन् । 
वित्तीय सुरक्षा
जबसम्म कमाएको सम्पत्तिको सुरक्षाका बारेमा मानिसहरू सचेत हुँदैनन्, तबसम्म स्थायी आर्थिक उन्नति हुन सक्दैन । विपन्न परिवारले लघुवित्त संस्थामार्फत कर्जा लिएर भैंसी वा गाईपालन गरेर परिवार चलाइरहेका हुन्छन् । अकस्मात् गाई तथा भैंसीको मृत्य अथवा अनुत्पादक भएमा निकै ठूलो वित्तीय सङ्कट आइपर्छ । त्यसैले पशुधन र व्यवसायको बीमाका साथै कमाउने व्यक्तिको जीवनबीमा अनिवार्य गरिनुपर्छ । यस्तै गरी हरेक कारोबारको लेखा राख्ने, बिलभरपाई लिनेदिने र जालसाजी तथा ठगीबाट सुरक्षित हुने कुरा पनि सामान्य मानिसलाई सिकाउनुपर्छ ।
खर्चका लागि पूर्वयोजना
वित्तीय साक्षरताको कारण न्यून आय भएका मानिसहरू खर्च कटौती गरेर बचत गर्न सक्नेछन् । वित्तीय साक्षरताको स्तरबाटै व्यक्तिको जीवनस्तरलाई प्रभाव पार्छ । अरूको पैसा लिएर व्यवसायको सृजना गर्ने तथा विक्री बढाएर बढी नाफा कमाउने कुशलता पनि वित्तीय साक्षरताले दिन्छ । वित्तीय रूपमा साक्षर व्यक्तिले आर्थिक अवसरको उपयोग गर्न, लक्ष्य पूरा गर्न, परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै वित्तीय रूपमा सबल समाजको सृजना गराउँछ ।
वित्तीय साक्षरताको महत्व
आर्थिक तथा वित्तीय क्षमतामा सुधार ल्याएर निपूर्णता र सबलताका साथ आर्थिक तथा वित्तीय निर्णय लिन सक्ने बनाउनका लागि वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ ।
ऋण शिक्षा
व्यवसाय सञ्चालन तथा अन्य आवश्यकताका लागि बजारमा केकस्ता ऋण सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ, केकति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ, आदि सूचना राम्ररी थाहा पाउनु नै ऋण शिक्षा हो ।
वित्तीय विधि
आफूले आर्जन गरेको आम्दानी तथा सम्पत्ति के कसरी सुरक्षित गर्न सकिन्छ, सुरक्षाका विधि केके हुन सक्छन्, सुरक्षा गर्दा केकति लागत लाग्छ जस्ता वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरिन्छ ।
वित्तीय व्यवस्थापन
वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको वर्तमान तथा भविष्यको मूल्यजस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु पनि वित्तीय साक्षरता नै हो । व्यवसायको विकास र विस्तार, व्यवसाय सृजना तथा प्रर्वद्धन पनि वित्तीय साक्षरताको उद्देश्य हो । वित्तीय साक्षर व्यक्तिले आफ्नो आय वृद्धि गर्न, आफ्नो काम तथा व्यवसायको प्रवद्र्धन कसरी गर्ने, कति आम्दानी गर्न सकिन्छ भन्ने सम्बन्धमा सही निर्णय लिन सक्छ । त्यसै गरी ग्राहक सम्बन्ध, बजार व्यवस्थापन, उत्पादन व्यवस्थापन, मौज्दात व्यवस्थापन आदि ज्ञान दिनु पनि वित्तीय साक्षरताको उद्देश्य हो ।
वित्तीय संस्थाको उद्देश्य
आफ्नो आवश्यकता र अवस्था सुहाउँदो उत्तम वित्तीय सेवाको छनोट गर्नु, निर्णय गर्नु तथा उद्यमशीलता वृद्धि गरी आम्दानी बढाउनु वित्तीय शिक्षाको उद्देश्य हो ।

रविवार, 28 अक्टूबर 2018

उद्यम र उद्यमी

नेपाल किन बनेन भन्ने बारेमा धेरै चर्चा भएको छ। नेपाल नबन्नुमा यो मुलुकमा उद्यम गर्ने उद्यमीको कमी छ भन्ने एउटा भनाइ जबर्जस्त रूपमा प्रस्तुत भएको छ। केही दिन अगाडि भारतको हरियाणामा भएको एउटा सहकारी तालिममा प्रशिक्षक प्रोफेसर डा. डि.एन. राम यादवले नेपालका बारेमा धेरैबेर प्रशंसा गरे र सम्भावना देखाए। त्यतिमात्रै गरेनन् नेपाल पछि पर्नुको कारण पनि भने ‘नेपालमा उद्यमको कमी छ’। यसो भनिरहँदा उनले हामी सहभागी नेपालीसँग माफी मागेका थिए। तर यथार्थ कुरा भनेका थिए।
उद्यमबिना कुनै पनि देश विकशित भएको छैन। नेपाली शब्दसागरका अनुसार उद्यम भनेको उद्योग, इलम, जीवन निर्वाहका लागिको उपार्जनलाई गरिने काम वा श्रम, मेहनत, व्यपार, व्यवसाय, प्रयत्न, प्रयासलाई जनाइएको छ। र, उद्यमी भनेको उद्योगी, प्रयत्नवान्, परिश्रमी, कर्मशील भनिएको छ। यो अर्थको सारलाई यसरी भन्न सकिएला उद्योग भनेको आय आर्जनका लागि गरिने काम, पेशा, व्यावसाय र उद्यमी भनेको त्यो काम गर्ने मानिस।
देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारीको सृजना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ, व्यवस्थापकिय क्षमताको विकास हुन्छ र जोखिम लिने आँट पलाउछ, आयात घट्छ र निर्यात बढाउने सम्भावना बढ्छ, राज्यको व्यपार बढ्छ, व्यक्ति-व्यक्तिमा शिप र दक्षताको विकास हुन्छ। अनुसन्धान र खोजको विकास भएर नयाँनयाँ प्रविधि पहिल्याउन सकिन्छ। यी र यस्ता अनेक फाइदा हुन्छन् यदि देशमा उद्यमको विकास भएमा।
उद्यम विकास भनेको तुरुन्तै फाइदा हुने क्षेत्र होइन। यसमा लगानी लगाएर फाइदा लिन धेरै पर्खनुपर्छ। तर व्यपारमा लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ। व्यपार र उद्यमको फरकलाई छोटकरीमा यसरी भन्न सकिन्छ व्यापार भनेको बस्तु किन्नु र केही नाफा लिएर बेच्नु हो यसलाई अङ्ग्रेजीमा ट्रेडिङ भन्ने गरिन्छ भने उद्यम भनेको कच्चा समान किनेर प्रशोधन गर्ने र नयाँ ‘प्रोडक्ट’ बनाएर बेच्ने अवस्थामा पुर्‍याउनु हो। उद्यमले प्रतिफल दिन लामो प्रक्रिया पूरा गर्नुपर्छ भने समय पनि धेरै लाग्छ।
उदाहरणको रूपमा यसरी भन्न सकिन्छ। यदि तपाई आँप बेचेर नाफा कमाउन चाहनुहुन्छ भने बजारमा होलसेलमा आँप किन्नु होस् र केही नाफा लिएर बेच्नुहोस्। यहाँ पनि नाफा हुन्छ। यो व्यपार हो। तर उद्योग होइन। तपाइँ आँप बेचेर नाफा कमाउन चाहनुहुन्छ तर तपाइँको लक्ष आँप उत्पादन नै गरेर बेच्ने हो भने तपाइँमा उद्यमी हुने गुण छ र यो अभियानमा लागेपछि तपाइँ उद्यमी बन्नु हुनेछ। त्यसका लागि आँपको खेती गर्ने जमिन, सुहाउदो हावा पानी र माटो, उपयुक्त जातको बिरुवाको छनौट, बिरुवाको गोडमेल र बचाउ गर्नुपर्छ। त्यतिले मात्रै पुग्दैन निश्चित समयको पर्खार्इको आवश्यक्ता पनि पर्छ। त्यति भएपछि मात्र त्यो व्यवसायले उत्पादन वा फाइदा दिन शुरु गर्छ। तर यस्तो फाइदा व्यापारमा जस्तो क्षणिक नभइ वर्षौ हुने गर्छ।
व्यापारमा जोखिम कम हुन्छ तर उद्यममा जोखिम बढी हुन्छ। व्यापार अल्पकालिन नाफाको बाटो हो भने उद्यम दीघकालीन बाटो हो। उद्यमी हुन चाहनेले परसम्मको भविश्य देख्नुपर्छ, जोखिम लिन र लगानी गर्ने आँट गर्नु पर्छ। जापानी लेखक कियोसाकी आÇनो ‘रिच ड्याड पुवर ड्याड’ पुस्तकमा उद्यमलाई एउटा विरुवासँग तुलना गर्नु हुन्छ। जुन एकदमै सही छ। उहाँको भनाइ अनुसार एउटा ठूलो रुख बनाउन पहिला धेरै सानो विउको दानालाई भुइँमा रोप्नुपर्छ। त्यसलाई उमार्न, हुर्काउन, हावाहुरी र वस्तुभाउबाट बचाउन, घामपानी, मलखादको मात्रा मिलाएर स्याहार गर्न, दुष्ट किराहरूबाट बचाउन धेरै नै मेहनत गर्नुपर्छ। जबकि यो बेलामा त्यो विरुवाले कुनै प्रकारको आम्दानी वा फाइदा दिँदैन। बरु सानो ठक्करले त्यसको ज्यानै पनि जान सक्छ। तर जब त्यो विरुवा हुर्कर्ंदै जान्छ त्यसले जमिनबाट आफैखाने तत्व लिन सुरु गर्छ। हावाहुरी थेग्न सक्ने हुन्छ। कसैले एउटा हाँगो काटेछ नै भने पनि खासै फरक पर्दैन। जनावर र साधारण दुष्ट किराले नोक्सानी पुर्‍याउन सक्तैनन्। जब यो बिरुवा ठूलो हुन्छ तब यसको हेरचाह धेरै गर्नुपर्दैन तर यही बेला यसले फल दिन शुरु गर्छ। फल मात्रै दिदैन सितलता दिन्छ, ओत दिन्छ, घाँसदाउरा दिन सक्छ, र बुढो भए पछि काठ पनि दिन सक्छ। यसले मानिसको जीवन जत्तिकै लामो अवधिसम्म आम्दानी दिइरहन सक्छ।
उद्योग एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ। उद्योगको कानुनी स्वामित्व केही व्यक्ति वा समूहमा देखिए पनि वास्तवमा उद्योग राष्ट्रको र समाजको सम्पति हो। यसले समाजमा धेरै मानिसलाई जोड्छ। धेरैलाई रोजगारी जुटाइदिन्छ भने राज्यलाई कर तिर्छ।
नेपाल किन गरिब भयो भन्ने प्रश्नतिर विचार गर्ने हो भने नेपालमा उद्योगको जग नै धेरै सानो छ। मानिसमा उद्यमी हुने आँट र चेतना धेरै छैन। लगानी गरेर पर्खने धैर्यता छैन। उद्यमी हुँदाको फाइदाका बारेमा प्रष्टता छैन। त्यसैले मानिस लगानी गर्ने पैसा भए पनि उद्योगमा लगानी गर्न हच्किन्छन्। उध्योग सञ्चालन गर्न निक्कै उन्नत स्तरको व्यवस्थापकिय क्षमता चाहिन्छ। यो केही पढेर र केही परेर सिक्ने कुरा हो तर जसले गर्दै गरेन उसले कहिले परेर सिक्न सकिन्छ र ?
उद्यम भनेको एकैचोटी ठूलो हुँदैन। यो सानो बाट ठूलो हुदै जाने प्रक्रिया हो। केहीकेहीलाई एकैचोटी ठुलो उद्यमको मालिक हुने सौभाग्य पनि जुट्छ। तर यो साहै्र थोरैलाई मात्र जुट्छ। यस्तो सुविधा कुनै धनी र उद्यमी परिवारमा मात्रै सम्भव छ। जस्तो मोहन गोपाल खेतानका छोरा राजेन्द्र खेतान, विनोद चौधरीका छोरा निर्माण चौधरी आदि। तर बाबुबाजे धनी हुँदैमा सबै उद्यमी नै हुन्छन् भन्ने छैन। त्यस्ता बाबुआमा बाट धन त प्राप्त होला तर उद्यम प्राप्त हुदैन। जस्तै झापा विर्तामोड निवासी टोरूप प्रसाईलाई पैत्रिक धन प्राप्त भयो तर उहाँ उद्यमी बन्न सक्नु भएन।
उद्यम भनेको अर्को अर्थमा इलम पनि हो। मेरा एकजना सहकर्मी मित्र नारायणप्रसाद कोइराला मध्यम वर्गीय परिवारका मानिस हुन्। उनलाई खानलाउन र गर्जो र्टार्न कुनै दुख छैन। तर उहाँले मसँगको कुराकानीमा धेरै पटक ‘उद्यम वा इलम नभई नहुने रहेछ। कसैले के गर्नु हुन्छ ? भनेर सोद्धा जवाफ दिनै गाह्रो पर्दो रहेछ। बैड्ढमा ऋण लिन गयो के गर्नु हुन्छ ? भन्छन्। सम्पत्ति त छ नि तर उद्यम, इलम नहुँदा दुनियाँले पत्याउँदो रहेनछ’ भन्ने गर्नु हुन्थ्यो।
मध्यम वर्गीय मानिसको बाहुल्यता भएको हाम्रो समाजमा उद्यम वा इलम गर्न संकोच लाग्ने एउटा कारण छ। त्यो के भने सानो तिनोमा आँखा लाग्दैन ठूलो गर्न आँट र पूँजीको अभाव हुने गर्छ। उद्यम भनेको एकैचोटी ठूलो हुन त विरासतबाटै प्राप्त हुनुपर्छ। जस्तो विनोद चौधरीका छोराहरूलाई प्राप्त भयो। तर विनोद चौधरी स्वयंले पनि निकै सानो व्यवसायबाट आजको अवस्थामा आएका हुन भन्ने भुल्नु हुँदैन। उद्यमको बिउ भनेको विशाल बरपीपलको सानो बिउ दानाजस्तो मात्रै हो। त्यसले अनुकूल स्याहार र हावापानी, माटो, प्रकास पायो भने बिसाल बोट बन्न सक्छ।
एउटा सानो उदाहरण लिउँ झापाको धाइजन निवासी घनस्याम चिमरिया २०५० साल तिर जिविकाका लागि अर्काको साइकलमा ज्यालामा दूध बोक्ने गर्थे। यति गरेबापत महिना दिनमा १२।१५ सयको ज्याला पाउँथे। उनले केही समयमा यो काम सिके र पुरानो साइकल किनेर आफैदूध किन्न र बेच्न थाले। आज करिब २० वर्षपछि उनीसँग आÇनै आधुनिक दूध डेरी उद्योग छ। जसमा दैनिक ७।८ हजार लिटर दूध संकलन गर्ने, प्रशोधन गर्ने गर्छन्। त्यस्तै अर्को उदाहरण काँकरभिट्टामा २० वर्ष जति पहिले भन्सारको छेउमा एउटा सानो घुम्ती पसलमा कोल्ड डि्रङ्स र पान बेच्न सुरु गरेका स्याम कार्की आज काँकरभिट्टामै जग्गा किनेर करोडौंको लगानीमा होटल बनाउँदैछन्। अर्को उदाहरण काँकरभिट्टाका श्रीप्रसाद मैनालीलाई पनि लिन सकिन्छ। २०४० साल तिर कन्काई बसमा यात्रु बुक गरेर पाएको कमिशनले परिवारको गर्जो टार्नुपर्ने अवस्थाका मानिस आज करोडौं अचल सम्पत्ति र एक दर्जन बढी रात्रि तथा दिवा बसका एकलौटी मालिक बन्न सफल भएका छन्।
यस्ता उदाहरण कति हो कति दिन सकिन्छ। यस्ता उद्यमीले आफूले मात्रै पैसा कमाएका होइनन् धेरैलाई रोजगारी दिएका छन्। राज्यलाई कर तिरेका छन्। आÇनो व्यवस्थापकीय क्षमतामा उल्लेख्य वृद्धि गरेका छन्। एउटा उद्यमी सफल भए त्यसले आफूलाई मात्रै होइन समाज र देशकै भलो गरिरहेको हुन्छ। त्यसै कारण उद्यम र उद्यमीको विकासका लागि राज्यले ध्यान दिनुपर्छ। तब मात्रै वास्तविक रूपमा देश विकास हुन्छ। राज्यले यहाँ ध्यान पुर्‍याउनुपर्ने कुरा के मात्रै हो भने कतै उद्यमीले धेरै र चाँडै नाफा कमाउने नाममा ठगी त गरिरहेको छैन ? भनेर बेलाबेलामा छड्के चेकजाँच गर्नुपर्छ। तर उद्यमीलाई निरास र हतोत्साही बनाउनुहुँदैन। रातारात धनी हुने सपना देखेर छलछाम गरेर, अरुलाई झुक्याएर वा ठगेर धनको धनी त बन्न सकिएला तर उद्यमी बन्न सकिदैन। त्यसैले धनी हुनु र उद्यमी हुनु एउटै कुरा होइन।
उद्यम भनेको ठूलठूला उद्योग र कलकारखाना मात्रै होइन। जीविको पार्जनका लागि गरिने ब्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन्। उद्यमको शुरुवात जीविको पार्जन गर्न कै लागि हुन्छ। तर जब उद्यमले आकार ग्रहण गर्दै वृद्धि हुँदै जान्छ तब त्यो जीविकोपार्जनसम्म मात्रै सीमित हुँदैन। त्यसले अरुअरु उद्यमका सम्भावनाको खोजी गर्दै जान्छ। कारोबार बढाउदै जान्छ। धेरैलाई रोजगारी दिने क्षमता राख्छ। राज्यलाई कर तिरेर धनी बनाउछ। त्यसैले साचो अर्थमा उद्यम विकासबिना देश विकास हुँदैन। नेपाल किन बनेन भन्दा यति चाहीँ भन्न सकिन्छ कि यहाँ साँचो अर्थमा उद्यम गर्ने मानिसको खाँचो छ र राज्यले उद्यमीको योगदानलाई सही अर्थमा बुझनै सकेको छैन। हाम्रो समाजको मूल चरित्र कस्तो बन्यो भने मानिस धनी हुन चाहन्छन् तर उद्यमी बन्ने प्रयास गर्दैनन्। यो नै हाम्रो पछौटे पनको कारण हो भन्ने मेरो बुझाई हो।
- रामचन्द्र उप्रेती

'क' प्रश्न भनेको के हो

चाहे त्यो आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, बौद्धिक जे सुकै कार्य किन नहोस् सुरु गर्नु अघि त्यसभित्र लुकेको 'क' प्रश्नहरुको उत्तर खोज्नु पर्दछ र ती 'क' प्रश्नका उत्तरहरु सकारात्मक वा चित्त बुझ्दो आएमा र प्रष्ट भएमा मात्र कार्य सुरु गर्नुपर्दछ। 'क' प्रश्न भनेको के हो भन्ने खुल्दुली उठ्न सक्छ। WH question भनेको भए हामी नेपालीले राम्ररी बुझ्थ्यौं होलान्। स्वभाविक हो आफ्नो नाम लेख्न नजानी औँठामा कालोदली छाप लगाउने दाजु भाइ, दिदी बहिनी पनि तनाव भनेको बुझ्नु हुन्न तर टेन्सन भने सजिलै बुझ्नुहुन्छ। सवैखाले उपनिवेशबादले च्याप्न खोजिरहेको हाम्रो देशमा भाषिक उपनिवेशबादले पनि त्यतिकै, अझ बढी सताएको छ। जे होस् 'क' प्रश्न भन्नाले के, कहाँ, कहिले, कसले, किन, कसलाई, कति, कसरी, कुन, को आदि पर्दछन्। जेसुकै कार्य किन नहोस्, प्रारम्भ गर्नु अघि यिनको उत्तर खोज्ने कोशिश गर्नु पर्दछ। सबै प्रश्नको पर्याप्त र सही अनि तथ्यगत उत्तर खोजी क्रमसंग मिलाएर राख्ने हो भने त्यस विषयको विश्लेषण प्रतिवेदन वा सम्भाव्यता अध्ययन प्रतिवेदन बन्न सक्छ। सवै क्षेत्रको सम्भाव्यता अध्ययन हुन सक्छ र गर्नु पर्दछ। त्यही नगरिएका कारण नै व्यक्तिहरु आफू लागेको क्षेत्रबाट बीचमै अल्पविराम लगाई बाटो फेर्न वाध्य हुन्छन् वा बिच बाटैमा हराउँछन्। राजनैतिक दल फेर्नु, वीचमै पढाइ छोड्नु, जागिर छाडी विदेश जानु, पूनर्विवाह वा सम्वन्ध विच्छेद गर्नु, वसाइँ सर्नु आदि सवै गलत वा अपूर्ण सम्भावयता अध्ययन का कारण हुने गर्दछन्। या त नयाँ सम्भाव्यता अधययनले नयाँ सम्भावना र भविष्य खुलाइदिएका कारण हुने गर्छन। जे होस् यी सबै 'क' प्रश्नकै आधारमा नै जोडिन्छन्, तोडिन्छन् वा मोडिन्छन्। 

हामी अरु क्षेत्रका नभई ब्यावशायिक क्षेत्रमा लाग्न चाहनेले गर्नु पर्ने सम्भाव्यता अध्ययनको बारेमा कुरा गर्दैछौँ। त्यसमा पनि पहिलो पटक एउटा सानो व्यापार ब्यवशाय सुरु गर्न चाहने व्यक्तिको दृष्टिकोणबाट, उसको भविष्यको जोखिम कम गर्ने विषयमा कुरा गर्दैछौँ। हुनत हरेक पटक नयाँ ब्यवशाय सुरु गर्नु अघि 'क' प्रश्नको आधारमा वृहत अध्ययन अनुसन्धान, तुलना, व्याख्या आदि गर्नु आवाश्यक छ। अझ, पहिलो पटक विना अनुभव नयाँ ब्यवशाय सुरु गर्न चाहानेलाई त झनै बढी जरुरत छ। यस्ता सम्भाव्यता अध्ययन प्रतिवेदन बजारमा वा इनटरनेट मार्फत किन्न पनि पाइन्छन् तर नेपाल जस्तो सानो बजारकालागि ठ्याक्कै मिल्ने खालको प्रतिवेदन भने पाइँदैनन्। प्राविधिक पक्ष मिले पनि बजार र स्थानिय तथ्याँक भिन्न हुने हुँदा जस्ताको तस्तै लागु गर्न सुझाव योग्य छैन। त्यसको विकल्पको रुपमा स्थानीय विशेषज्ञहरको सेवा लिई छुट्टै प्रतिवेदन बनाई त्यसकै आधारमा 'क' प्रश्नको उत्तर खोजी ब्यवशाय सुरु गर्ने निर्णय गर्न पनि सकिन्छ। 
हामी यहाँ त्यसरी अरुको विशेषज्ञ सेवा नलिई एउटा नवागन्तुक, सिकारु सामान्य ब्यावशायीले नयाँ ब्यवशाय कसरी सुरु गर्ने भन्ने बारेमा कुरा गर्दैछौँ। 'क' प्रश्नको आधारमा सुरु गर्नुपर्छ भन्ने बारेमा त हामीले यस अघिनै चर्चा गरिहाल्यौं। यस क्रममा धेरै 'क' प्रश्नहरुको उत्तिकै महत्वका साथ अध्ययन गर्नुपर्दछ। धेरै 'क' प्रश्नहरु मध्य 'कस्तो' र 'कसरी' भन्ने बारेमा सामान्य चर्चा गरौं। कस्तो ब्यवशाय सुरु गर्दा र त्यो ब्यवशाय कसरी संचालन गर्दा राम्रो होला वा नहोला भन्ने खुल्दुली हुन्छ नै। यस दृष्टिकोणबाट हेर्दा ब्यवशायलाई ४ प्रकारमा विभाजन गर्न सकिन्छ। ति हुन् – (क) पुरानो खाले काम पुरानै तरीकाले गर्ने (ख) पुरानोखाले काम नयाँ तरीकाले गर्ने (ग) नयाँ खालेकाम पुरानो तरीकाले गर्ने र (घ) नयाँ खालेकाम नयाँ तरीकाले गर्ने। यो सन्दर्भमा पुरानो खाले काम भन्नाले यसअघि अरुले पनि यसै सेरोफेरो, शहर, बजार, देशमा गरिआएका कामहरु मध्ये एक बुझ्नु पर्छ भने नयाँ खाले काम भन्नाले ती भन्दा भिन्न र अलि फरक काम भन्ने बुझ्नु पर्दछ। त्यसैगरी पुरानो तरीकाले काम गर्ने भन्नाले व्यवस्थापन, बजारिकरण, नामाकरण, प्रस्तुतिकरण आदि पुरानै ढाँचाको भन्ने बुझिन्छ भने नयाँ तरीका भन्नाले प्रस्तुति र प्रविधि आदिका हिसाबले नयाँ भन्ने बुझ्नु पर्दछ। 

अब यी ४ प्रकार मध्ये कुन प्रकार छान्ने र कुन प्रकारको के सवल र दुर्वल पक्ष छन् भन्ने बुझ्ने कोशिस गरौं। यी मध्ये प्रकार (क) सबैभन्दा कम जोखिम र कम भविष्य तथा न्युन नाफा दिने खालको हुन्छ। पहिल्यै त्यस्तै प्रकारका धेरै ब्यवसाय हुने हुँदा प्रतिस्पर्धा धेरै हुन्छ। तथापि यस अघि नै धेरैले गर्दै आएको र चल्ने निश्चित भएको हुँदा चल्दै नचल्ने जोखिम चाहिं हुँदैदैन। जहाँ जोखिम कम छ, त्यहाँ मुनाफा वा भविष्य पनि कम नै हुनु स्वभाविक नै हो। त्यसै गरी प्रकार (ख) सापेक्षिक रुपमा सुझावयोग्य छ। यस अन्तर्गत काम / ब्य्वसाय त पुरानै खालको गरिन्छ जुन अरुले पनि गर्दै आएका छन् तर नयाँ तरीकाले गरिन्छ। यहाँ नयाँ तरीका भन्नाले पूर्ण रुपमा उल्टो वा भिन्न तरीका भन्न खोजिएको होइन। मात्र नयाँ वा थप पद्धति र प्रविधि सहित गर्ने भनिएको हो। पुरानै काम हुनाले चल्ने पक्का नै हुन्छ। यसलाई नयाँ तरिकाले गर्दा त्यसको फाइदा पनि लिन सकिन्छ। आफ्ना प्रतिस्पर्धीहरु प्रकार (क) मा अडिएको अवस्थामा आफूले प्रकार (ख) मा जाँदा फाइदा गर्न सकिन्छ। यसमा जोखिम कम हुँदा हुँदै पनि फाइदा बढी हुन्छ। प्रकार (ग) अती नै जोखिमपूर्ण र साँच्चै भन्दा मूर्खतापूर्ण पनि छ। काम नयाँ खालको, गर्ने तरीका पुरानो कसरी चल्नु? प्रकार (घ) पनि जोखिमपूर्ण छ किनकि यो नयाँ काम हो तर नयाँ र परिष्कृत तरीकाले गरिनेहुँदा यो रोमाञ्चक र जोखिम पूर्ण छ। उद्यमशिलताको स्तर बढी भएका उद्यमीले यस प्रकारको काम गर्न रुचाउँछन्। कसले कुन काम गर्नु उपयुक्त हुन्छन् भनी किटान गर्न गाह्रो छ। 'क' प्रश्नहरु मात्रै पनि आधार होइनन्। आन्तिरिक र वाह्य धेरै कारण र तत्वहरु विचार गर्नु पर्दछ। अझ उद्यमीको आफ्नै अनुभव, शिक्षा, लगानी, इच्छा र प्रथामिकता, श्रोत आदिमा पनि भर पर्दछ। अन्य तथ्यहरुलाई यथावत राखी झट्ट भन्नु पर्दा प्रकार (ख) को काम गर्न सुझाव दिन सकिन्छ ।

Hari Kumar Silwal

सोमवार, 22 अक्टूबर 2018

रेस्टुराँमा भाँडा माझ्ने भट्ट बने सफल व्यवसायी

काठमाडौँ (रासस) । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापितभएका छन् ।
अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गर्नुभएका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छन् ।
उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए ।
जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उनी रोजगारमा संलग्न हुन थाले । महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम सुरू गरे । ती दिन सम्झना गर्दै भट्टले भने, ‘घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।’ तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिनुपर्छ भन्ने उनले योजना बनाए ।
उनले भने, ‘भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरुले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माझँे ।’ उनको सो कामबाट प्रभावित भएपछि साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पु¥याइदियो । कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो ।
यसरी ६ वर्षसम्म फरक÷फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे ।
विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बनाए ।
जापान गएको छ वर्षपछि टोकियोको बीएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो ।
सो रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किने । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरेका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए ।
यस्तै उनले नेपालमा पनि टीबीआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पयटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब लगानी गरिसकेका छन् ।
‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बीबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन् ।
विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै एक करोड पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ (एनआरएन) को ठूलो सहयोग नेपाल भित्रिएको थियो ।
नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उनकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरूले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो ।
पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडाँै, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरका थिए ।
Source: Chitwan Post

अमेरीकामा ब्यापार मेला सफल बनाउन यस्ता रणनितीहरु अबलम्बन गरिँदै

विश्वको आर्थिक राजधानी अमेरिकाको न्युयोर्कमा आगामी सेप्टेम्बरको अन्त्यमा नेपाली व्यापार मेला भब्यरुपमा सम्पन्न हुने भएको छ । मेला आयोजक वल्र्ड बिजनेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्युयोर्कमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर दुईसम्म नेपाली व्यापार मेला हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा मेलामा सहभागी बिभिन्न साझेदार संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका छन् । नेपाल अमेरीका चेम्बर अफ कमर्शका निर्देशक किरण शाखले अमेरिका पुगेर ब्यापार खोज्न चुनौती हुने कुरा ब्यक्त गर्नुभयो । दशैको नजिकै भएकाले केहीलाई इच्छा भएर पनि जान आनाकानी गरेको कुरा मणी रत्न शाक्यले बताउनु भएको छ ।
नाटाका अध्यक्ष मधु शर्माले पर्यटन ब्यबसयी उत्सुक भएको कुरा ब्यक्त गर्नुभयो। त्यसैगरि हस्तकला महासंघका निर्देशक डा। गोबिन्द प्रशाद रेग्मिले यती राम्रो कार्यक्रममा खुट्टा तान्ने प्रब्रित्ती राम्रो नभएको बताउनुभयो । वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका निर्देशक कृष्ण प्रशाद लामिछानेले प्रेस बिज्ञप्ति बाचन गर्दै पत्रकार तथा अन्य सहभागिको जिज्ञासा को जबाफ दिनु भयो। साथै पत्रकार सम्मेलनमा मेलामा सहभागी हुन जान लागेका कम्पनिका प्रतिनिधिको पनि उपस्थिती थियो । पत्रकार सम्मेलनमा मेलाको सफलताको बिषयमा अन्तरक्रिया समेत गरिएको थियो । वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्ट अमेरिकास्थित मेरिल्याण्ड राज्यमा दर्ता भई आधिकारिकता प्राप्त गरेको संस्था हो ।
नेपाल र अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्न चाहने नेपालीलाइ अवसर प्रदान गर्न मेला आयोजना गरेको आयोजकले जनाएको छ । त्यस्तै नेपाली उत्पादनका ६६ वटा बस्तुमा अमेरिकाले दिदै आएको भन्सार छुटको फाइदा नेपाली व्यवसायीहरुले उठाउन सक्ने आयोजक वल्र्ड बिज्नेस म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले जानकारी दिनुभयो ।
मेलाको प्रद्र्धकहरुमा नेपाल पर्यटन बोर्ड, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नेपाली कफि व्यवसायी महासंघ, नेपाल ह्याण्डमेड पेपर एसोसियसन, नेपाल सुन चा“दी व्यवसायी महासंघ लगायत संघसंस्थाहरु रहेको लामिछानेले जानकार िदिनुभयो ।
मेलामा नेपाली समुदाय, भुटानी, इटालियन, बंगाली, पाकिस्तानी, स्पेनिस, चाइनजि, लगायत अमेरिकी व्यापारीहरुको सहभागिता रहनुका साथै मेलामा नेपाल सरकारका प्रतिनिधि, उद्योगी व्यवसायी प्रतिनिधि तथा अमेरिकी सरकारका प्रतिनिधि, उद्योगी, व्यवसायीहरुको आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने आयोजकले जनाएको छ ।
मेलामा सहभागिताका लागि छनौट भएका उद्योगी, व्यवसायीहरुलाई सेप्टेम्बर २८ सम्ममा न्युयोर्कमा पुग्ने गरी जहाजको टिकट बुकिङ गरिएको आयोजकले जानकारी गराएको छ ।
यस्तै मेलामा सहभागी हुने व्यवसायिक संस्थाले कम्तीमा दुई बर्ष उत्पादन गरेको हुनुपर्ने, स्वदेशी तथा विदेशी मेलाको अनुभव हासिल गरेको हुनुपर्ने, सरकारी कर तिरेको हुनुपर्ने आयोजकले सर्त राखेको छ ।
Source: OSnepal